डा. गोविन्द केसीसँग सरकारको वार्ता सुरु, पाँचबुँदे मागमा छलफल हुने
धनगढी।चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष तथा गेटा मेडिकल कलेज (दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय) मा उपकुलपति र रजिस्ट्रार नियुक्ति गैरकानुनी भएको भन्दै अनशनरत डा. गोविन्द केसीसँग सरकारले वार्ता सुरु गरेको छ।
धनगढीस्थित कृष्ण मन्दिरको धर्मशालामा अनशन बसेका डा. केसीको स्वास्थ्यमा समस्या देखिएपछि शनिबार सेती प्रादेशिक अस्पताल भर्ना गरिएको थियो। स्वास्थ्य अवस्था कमजोर भएपछि उनलाई आइसियूमा राखिएको उपचारमा संलग्न चिकित्सकले बताएका छन्। उनको स्वास्थ्य अवस्था भने सुधारोन्मुख रहेको जनाइएको छ।
सरकारले वार्ताका लागि शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चूडामणि पौडेललाई धनगढी पठाएको हो। सचिव पौडेलले अस्पतालमै पुगेर डा. केसीसँग अनौपचारिक कुराकानी गरेका छन्।
डा. केसीले आफ्ना पाँचबुँदे माग नै वार्ताको मुख्य आधार रहेको स्पष्ट पार्दै माग सम्बोधन गर्ने तयारीसहित आउन सचिव पौडेललाई आग्रह गरेका छन्। आइतबार सरकारका प्रतिनिधि र डा. केसीबीच औपचारिक वार्ता हुने तयारी छ।
शिक्षामन्त्री सस्मित पोखरेलका अनुसार वार्ताका लागि प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार जेपी अग्रवाल र स्वास्थ्य मन्त्रालयका सचिव डा. विकास कोइराला पनि धनगढी जानेछन्।
डा. केसीले चिकित्सा शिक्षा आयोग र गेटा मेडिकल कलेजमा भएका नियुक्ति बदर गर्नुपर्ने, चिकित्सा शिक्षालाई गैरनाफामूलक बनाउनुपर्ने तथा छात्रवृत्ति कटौती गर्ने मापदण्ड र आवश्यक पूर्वाधारबिनै निजी मेडिकल कलेजमा सिट वृद्धि गर्ने निर्णय खारेज गर्नुपर्ने माग राखेका छन्।
त्यस्तै, गत वर्ष २३ र २४ भदौमा भएको जेन–जी आन्दोलनका क्रममा भएका हत्या, आगजनी, लुटपाट तथा विनाशमा संलग्नलाई कारबाही गर्न र २०४६ सालदेखि हालसम्म उच्चपदस्थ तथा राजनीतिक पदाधिकारीबाट भएका भ्रष्टाचार र अपराधको निष्पक्ष छानबिन गरी दोषीलाई कारबाही गर्नुपर्ने माग पनि उनले अघि सारेका छन्।












