विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ आयोजना हुँदै, नेपालमा अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउने तयारी – Sagarmathapana:: Online News Portal

विश्व मिक्स बक्सिङ च्याम्पियनसिप–२०२६ आयोजना हुँदै, नेपालमा अन्तर्राष्ट्रिय खेलाडी भित्र्याउने तयारी

   २०८३ श्रावण १० गते  

काठमाडौं।‘खेलमार्फत स्वस्थ, अनुशासित र सक्षम समाज निर्माण गरौँ’ भन्ने नारासहित World Mix Boxing Championship 2026 आयोजना हुने भएको छ। नेपाल मिक्स बक्सिङ एसोसिएसन (NMBA) को आयोजना तथा बूढानीलकण्ठ नगरपालिकाको सहकार्यमा हुने प्रतियोगिताबारे जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको हो।


पत्रकार सम्मेलनमा कार्यक्रमका प्रमुख अतिथि बूढानीलकण्ठ नगरपालिकाका प्रमुख मिठाराम अधिकारी, विशेष अतिथि नगर उपप्रमुख अनिता लामा तथा बूढानीलकण्ठ खेलकुद परिषद्का अध्यक्ष सुमन तामाङ, उपाध्यक्ष दीपक लामा लगायत नगरका विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो।


कार्यक्रममा नेपाल मिक्स बक्सिङ एसोसिएसन (NMBA) का अध्यक्ष राजेश तामाङ, महासचिव सीता श्रेष्ठ तथा कार्यक्रम संयोजक मोहन खड्का लगायतको सहभागिता रहेको थियो।

आयोजकका अनुसार प्रतियोगिता जुलाई २९ देखि ३१ गतेसम्म बूढानीलकण्ठ–३, काठमाडौंस्थित मितेरी क्लबमा सञ्चालन हुनेछ। प्रतियोगितामा नेपालका विभिन्न प्रदेशका उत्कृष्ट खेलाडीका साथै अन्तर्राष्ट्रिय खेलाडीहरूको समेत सहभागिता रहने अपेक्षा गरिएको छ।

मिक्स बक्सिङ खेलको विकास, नेपाली खेलाडीलाई अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धाको अवसर प्रदान गर्नुका साथै खेल पर्यटनको प्रवर्द्धन गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ।

प्रतियोगिताअन्तर्गत जुलाई २९ मा मेडिकल तथा तौल परीक्षण र प्रारम्भिक प्रतिस्पर्धा, जुलाई ३० मा उद्घाटनसहित प्रतिस्पर्धा तथा जुलाई ३१ मा क्वार्टरफाइनल, सेमिफाइनल र फाइनल खेलसँगै पुरस्कार वितरण तथा समापन समारोह आयोजना गरिनेछ।

कार्यक्रममा आयोजकले प्रतियोगितालाई सफल बनाउन खेलाडी, प्रशिक्षक, प्रायोजक, सहकार्य गर्ने संस्था, सञ्चारमाध्यम तथा सम्पूर्ण सरोकारवालालाई सहयोग र सहभागिताका लागि आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै