माउन्ट एल्ब्रसमा नेपाली गौरव : चतुर तामाङको २००औँ सफल आरोहण – Sagarmathapana:: Online News Portal

माउन्ट एल्ब्रसमा नेपाली गौरव : चतुर तामाङको २००औँ सफल आरोहण

   २०८३ श्रावण १० गते  

काठमाडौं।माउन्टेन गाइड पर्वतारोही चतुर तामाङले युरोपको सबैभन्दा अग्लाे हिमाल “माउन्ट एल्ब्रस” (५,६४२ मिटर) मा २००औँ सफल आरोहण गर्दै नेपालको पर्वतारोहण इतिहासमा नयाँ गौरव थपेका छन्।

रुसकाे समयअनुसार शनिबार (जुलाई २५) बिहान ६:२० बजे माउन्ट एल्ब्रसकाे चुचुराेमा पुगेर उनले यो दुर्लभ उपलब्धि हासिल गरेका हुन्। माउन्ट एल्ब्रसमा २०० पटक सफल आरोहण गर्ने यो उपलब्धिलाई विश्व पर्वतारोहणकै एक असाधारण कीर्तिमानका रूपमा हेरिएको छ।


यो ऐतिहासिक आरोहणअघि पनि तामाङले लगातार अन्तर्राष्ट्रिय टोलीहरूको नेतृत्व गर्दै सफल आराेहणरू सम्पन्न गरेका थिए। त्यसपछि जुलाई २२ मा अन्तर्राष्ट्रिय टोलीसँग १९८औँ तथा जुलाई २३ मा अर्को अन्तर्राष्ट्रिय टोलीसँग १९९औँ सफल आरोहण गरेका तामाङले अन्ततः जुलाई २५ मा आफ्नो बहुप्रतीक्षित २००औँ आरोहण सम्पन्न गरेका हुन्।

तामाङले आफ्नो २००औँ आरोहणका क्रममा नेपालको राष्ट्रिय झण्डा माउन्ट एल्ब्रसको चुचुराेमा फहराएका छन्। उनले प्रत्येक आरोहणमा नेपाली राष्ट्रिय झण्डा शिखरमा पुर्‍याउँदै अन्तर्राष्ट्रिय पर्वतारोहण क्षेत्रमा नेपालको पहिचान र नेपाली पर्वतारोहीहरूको योगदानलाई निरन्तर उजागर गर्दै आएका छन्।

सोलुखुम्बु जिल्लामा जन्मेका तामाङले क्रमशः पर्वतारोहणसम्बन्धी सीप हासिल गरे र सन् १९९५ देखि व्यावसायिक पर्वतारोहणमा सक्रिय बने।

तामाङ सन् २००२ देखि रुसमा बसोबास गर्दै आएका छन्। त्यहीँबाट उनले एल्ब्रस हिमाल २०० पटक आरोहण गर्ने महत्वाकांक्षी लक्ष्य तय गरेका थिए, जुन अहिले सफलतापूर्वक पूरा भएको छ।

हाल उनी आफ्नो समय नेपाल र रुसबीच बाँड्दै आएका छन्। नेपालमा रुसी आरोहीहरूलाई विभिन्न हिमाल आरोहण गराउने र रुसमा अन्तर्राष्ट्रिय आरोहीहरूलाई एल्ब्रस आरोहण गराउने कार्यमा उनी सक्रिय छन्।

एल्ब्रसबाहेक उनले सगरमाथा, ल्होत्से, कञ्चनजङ्घा, चोयु, मनास्लु, अमादब्लम, बरुण्त्से, आइसल्यान्ड पिक र मेरा पिक लगायतका हिमालहरु सफलतापूर्वक आरोहण गरिसकेका छन्।

photo-Phurwa Sherpa (the Evenest news)

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै