साथी चिल्ड्रेनको २५औँ स्थापना दिवस सम्पन्न, २०० भन्दा बढी बालबालिकालाई शिक्षा र सिपमार्फत आत्मनिर्भर बनाउने अभियान – Sagarmathapana:: Online News Portal

साथी चिल्ड्रेनको २५औँ स्थापना दिवस सम्पन्न, २०० भन्दा बढी बालबालिकालाई शिक्षा र सिपमार्फत आत्मनिर्भर बनाउने अभियान

   २०८३ असार २९ गते  

काठमाडौं । लैङ्गिक हिंसाबाट प्रभावित महिला तथा बालबालिकाका लागि काम गर्दै आएको साथी संस्थाले आफ्नो बाल संरक्षण कार्यक्रम ‘साथी चिल्ड्रेन’ को २५औँ स्थापना दिवस विविध सांस्कृतिक कार्यक्रमसहित मनाएको छ।

स्थापना दिवसका अवसरमा आयोजित कार्यक्रममा कार्यक्रम संयोजक अन्जु सिंहले साथी चिल्ड्रेनमार्फत बालबालिकालाई एसईईदेखि स्नातक तहसम्म अध्ययन गर्ने अवसर उपलब्ध गराइँदै आएको जानकारी दिइन्। उनले प्लम्बिङ, सिलाइ, कम्प्युटर, होटल म्यानेजमेन्टलगायतका सीपमूलक तालिमसमेत प्रदान गरिने र आत्मनिर्भर नबन्दासम्म उनीहरूलाई संस्थाले संरक्षण गर्ने व्यवस्था रहेको बताइन्।

साथी संस्थाले सन् १९९२ मा हिंसामा परेका महिलाका लागि पहिलो आश्रयस्थल सञ्चालन गरेको थियो। महिलासँगै आउने बालबालिकाको आवश्यकता महसुस भएपछि सन् २००१ देखि ‘साथी चिल्ड्रेन’ कार्यक्रम सुरु गरिएको हो। हाल काठमाडौं, नेपालगञ्ज, बारा र कञ्चनपुरमा बालक तथा बालिकाका लागि छुट्टाछुट्टै आवासीय सेवा सञ्चालन भइरहेको छ, जहाँ २०० भन्दा बढी बालबालिका तथा किशोर–किशोरी अध्ययन र संरक्षणमा रहेका छन्।

संस्थाका अनुसार २५ वर्षको अवधिमा दर्जनौँ बालबालिकाले शिक्षा र सीप हासिल गरी आत्मनिर्भर जीवनतर्फ अघि बढेका छन्। कार्यक्रममा संस्थाबाट सेवा प्राप्त गरेका राजन गहतराज, विनिता सुचिकार, सोनिया श्रेष्ठ र अनिलकुमार सार्कीलगायतले साथीको सहयोगकै कारण उच्च शिक्षा हासिल गर्न र जीवनमा स्थापित हुन सफल भएको अनुभव सुनाए।

कार्यक्रममा फ्रान्सेली फार्मासिस्ट Jean-Michel Peny को निरन्तर सहयोगको पनि विशेष चर्चा गरिएको थियो। उनले आफूले स्थापना गरेको ‘स्मार्ट फर्मा’ कम्पनीको नाफा, परिवार तथा कर्मचारीबाट संकलित सहयोग रकम प्रत्येक वर्ष साथी संस्थालाई उपलब्ध गराउँदै आएको उल्लेख गर्दै बालबालिकाले उच्च शिक्षा र सीप हासिल गरी सक्षम नागरिक नबन्दासम्म आफ्नो सहयोग निरन्तर रहने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रमलाई सम्बोधन गर्दै ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले महानगरले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक लक्षित सामाजिक कार्यक्रमलाई प्राथमिकतामा राख्दै आएको बताए। साथी संस्थाकी अध्यक्ष सजनी अमात्यले हिंसामा परेका महिला, अभिभावकविहीन बालबालिका, सडक बालबालिका तथा आमासँग आश्रित बालबालिकालाई संरक्षण, शिक्षा र सुरक्षित भविष्य प्रदान गर्नु संस्थाको मुख्य उद्देश्य रहेको बताइन्।

वार्षिकोत्सवका अवसरमा बालबालिकाले गीत, नृत्य तथा सांगीतिक प्रस्तुति दिएका थिए। साथै, ‘साथी चिल्ड्रेन’को २५ वर्षे यात्रा र गतिविधि समेटिएको फोटो पुस्तकसमेत लोकार्पण गरिएको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै