ईन्फा अवार्ड–२०२६ को उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, मदनकृष्ण श्रेष्ठलाई लाइफटाइम एचिभमेन्ट अवार्ड
काठमाडौं।तेस्रो अन्तर्राष्ट्रिय नेपाली फिल्म अवार्ड (ईन्फा)–२०२६ अन्तर्गत विभिन्न २१ प्रतिस्पर्धात्मक विधाका उत्कृष्ट पाँच (टप–५) मनोनयन सार्वजनिक गरिएको छ।इनफा इभेन्ट्स यूके र इन्फा नेपालको संयुक्त आयोजनामा शुक्रबार काठमाडौंस्थित होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा मनोनयन सार्वजनिक गर्नुका साथै मनोनयनमा पर्न सफल कलाकार तथा चलचित्रकर्मीलाई प्रमाणपत्रसमेत प्रदान गरिएको हो।
आयोजकका अनुसार २०८२ साल वैशाख १ गतेदेखि चैत मसान्तसम्म प्रदर्शनमा आएका ४० भन्दा बढी नेपाली चलचित्रमध्ये स्वतन्त्र निर्णायक मण्डलले निष्पक्ष मूल्याङ्कनका आधारमा उत्कृष्ट पाँच मनोनयन छनोट गरेको हो। निर्णायक मण्डलमा वरिष्ठ अभिनेता हरिहर शर्मा, वरिष्ठ अभिनेत्री गौरी मल्ल, वरिष्ठ निर्देशक तथा कलाकार रमेश बुढाथोकी र वरिष्ठ सम्पादक एवं गीतकार करुण थापा रहेका थिए।
यसैबीच नेपाली चलचित्र क्षेत्रमा पुर्याएको दीर्घकालीन योगदानको सम्मानस्वरूप वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठलाई एक लाख ११ हजार १११ रुपैयाँ राशिको ‘लाइफटाइम एचिभमेन्ट अवार्ड’ प्रदान गरिने घोषणा गरिएको छ। उक्त पुरस्कार एचटीआर केयर एण्ड रिक्रुटमेन्टको प्रायोजनमा प्रदान गरिने आयोजकले जनाएको छ।
ईन्फा अवार्डका पहिलो र दोस्रो संस्करण सन् २०२४ र २०२५ मा बेलायतको लन्डनमा सम्पन्न भएका थिए भने तेस्रो संस्करण पहिलो पटक नेपालमा आयोजना हुन लागेको हो। आगामी श्रावण ३० गते काठमाडौंस्थित होटल याक एण्ड यतीमा हुने अवार्ड समारोहमा नेपाली चलचित्र क्षेत्रका अग्रणी व्यक्तित्व, सरकारी तथा निजी क्षेत्रका प्रतिनिधि, कूटनीतिक नियोग, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सञ्चारमाध्यम तथा विशिष्ट अतिथिहरूको सहभागिता रहने जनाइएको छ।
यस वर्ष उत्कृष्ट चलचित्रतर्फ ‘आ बाट आमा’, ‘ऊनको स्विटर’, ‘कोशेढुंगा’, ‘जेरीः अन टप’ र ‘परान’ मनोनयनमा परेका छन्। उत्कृष्ट निर्देशकतर्फ दीपकप्रसाद आचार्य, नविन चौहान, सरोज पौडेल, सुदिप्ता र सुयोग गुरुङ मनोनयनमा छन् भने उत्कृष्ट अभिनेता विधामा अनमोल केसी, नाजिर हुसेन, नीर शाह, पल शाह र विपिन कार्की प्रतिस्पर्धामा रहेका छन्।
त्यस्तै उत्कृष्ट अभिनेत्रीतर्फ आना शर्मा, जसिता गुरुङ, मिरुना मगर, रिश्मा गुरुङ र सुरक्षा पन्त मनोनयनमा परेका छन्। विजेताको घोषणा तथा अवार्ड वितरण श्रावण ३० गते हुने विशेष समारोहमा गरिनेछ। समारोहको प्रत्यक्ष प्रसारण प्राइम टेलिभिजनबाट गरिने आयोजकले जनाएको छ।












