प्रज्ञा भवनमा भव्य रूपमा मनाइयो २१३औँ भानु जयन्ती
काठमाडौं-आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीका अवसरमा काठमाडौंस्थित प्रज्ञा भवनमा विशेष समारोह आयोजना गरिएको छ। कार्यक्रममा सभामुख डोलप्रसाद अर्यालसहित साहित्यकार, लेखक, संस्कृतिकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
नेपाली भाषा र साहित्यको विकासमा आदिकवि भानुभक्त आचार्यले पुर्याएको ऐतिहासिक योगदानको स्मरण गर्दै आयोजित समारोहमा वक्ताहरूले नेपाली भाषाको समृद्धि र साहित्यिक परम्पराको संरक्षणमा भानुभक्तको भूमिका अतुलनीय रहेको बताए।
समारोहका क्रममा आदिकवि भानुभक्त आचार्यप्रति श्रद्धाञ्जली अर्पण गरिएको थियो। साथै नेपाली भाषा, साहित्य र संस्कृतिको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमले नयाँ पुस्तालाई प्रेरित गर्ने विश्वास व्यक्त गरिएको आयोजकले जनाएको छ।













