नेपालमै अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्न सकिने, सरकारलाई डा. गोपाल भट्टको प्रस्ताव
काठमाडौं।अन्तर्राष्ट्रिय खगोल वैज्ञानिक डा. गोपाल भट्टले नेपाल सरकारसँग सहकार्य गरेर नेपालमै अत्याधुनिक अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना गर्न तथा विज्ञान–प्रविधिको क्षेत्रमा वैदेशिक लगानी भित्र्याउन सकिने प्रस्ताव अघि सार्नुभएको छ।
हाल पोल्याण्डको Jagiellonian University मा कार्यरत डा. भट्टले नेपालका हिमाली तथा उच्च पहाडी क्षेत्र स्वच्छ आकाश, न्यून प्रकाश प्रदूषण र अनुकूल भौगोलिक अवस्थाका कारण विश्वस्तरीय खगोलीय अनुसन्धानका लागि उपयुक्त रहेको बताउनुभयो। उहाँले आधुनिक टेलिस्कोप जडान तथा अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापनाको प्रारम्भिक सम्भाव्यता अध्ययनसमेत सम्पन्न भइसकेको जानकारी दिनुभयो।


ब्ल्याकहोल, ब्लेजर तथा उच्च–ऊर्जा खगोल भौतिकशास्त्रमा अनुसन्धानरत डा. भट्टले नासा (NASA) र युरोपियन स्पेस एजेन्सी (ESA) का तथ्याङ्क प्रयोग गर्दै अन्तर्राष्ट्रिय अनुसन्धानमा सक्रिय सहभागिता जनाइरहेको उल्लेख गर्नुभयो।
नेपाल भ्रमणका क्रममा उहाँले अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना हुन सके नेपाली विद्यार्थी, अनुसन्धानकर्ता तथा विश्वविद्यालयले स्वदेशमै अन्तर्राष्ट्रियस्तरको अनुसन्धान गर्ने अवसर पाउने, साथै विश्वव्यापी अनुसन्धान सञ्जालसँग जोडिने विश्वास व्यक्त गर्नुभयो।
विदेशमा रहेका नेपाली वैज्ञानिकसँग ज्ञान, अनुभव, प्रविधि, अन्तर्राष्ट्रिय पहुँच र पूँजी रहेको उल्लेख गर्दै उहाँले सरकारबाट स्पष्ट नीति, प्रशासनिक सहजीकरण र दीर्घकालीन प्रतिबद्धता भए ती सबै स्रोत नेपालकै विकासमा परिचालन गर्न सकिने बताउनुभयो।


“हामीसँग अन्तर्राष्ट्रिय नेटवर्क, प्रविधि, अनुभव र पूँजी छ। अब यी सबै स्रोत नेपालकै विकासका लागि प्रयोग गर्न चाहन्छौँ,” डा. भट्टले भन्नुभयो।
उहाँका अनुसार अन्तरिक्ष अनुसन्धान केन्द्र स्थापना भए अन्तर्राष्ट्रिय विश्वविद्यालय, अनुसन्धान संस्था तथा निजी क्षेत्रसँगको सहकार्यमार्फत उल्लेखनीय वैदेशिक लगानी भित्र्याउन सकिनेछ। यसले उच्चस्तरीय रोजगारी सिर्जना, युवा वैज्ञानिकलाई स्वदेशमै अवसर र ज्ञानमा आधारित अर्थतन्त्र निर्माणमा महत्वपूर्ण योगदान पुग्ने उहाँको विश्वास छ।
डा. भट्टले विज्ञान तथा प्रविधिलाई राष्ट्रिय विकासको आधारका रूपमा स्थापित गर्न स्पष्ट नीति, दीर्घकालीन लगानी, प्रशासनिक सहजीकरण र राजनीतिक प्रतिबद्धता आवश्यक रहेको उल्लेख गर्दै नेपाललाई दक्षिण एशियाको उदीयमान अन्तरिक्ष अनुसन्धान केन्द्रका रूपमा विकास गर्न सकिने सम्भावना औँल्याउनुभयो।












