कांग्रेस विवादबीच शेखर–प्रकाशशरणको विराटनगरमा भेट
विराटनगर।नेपाली कांग्रेसभित्रको आन्तरिक विवाद उत्कर्षमा पुगेका बेला नेता डा. शेखर कोइराला र नेता डा. प्रकाशशरण महतबीच विराटनगरस्थित कोइराला निवासमा भेटवार्ता भएको छ।
शनिबार भएको उक्त भेटलाई कांग्रेसको पछिल्लो राजनीतिक समीकरणसँग जोडेर अर्थपूर्ण रूपमा हेरिएको छ। नेता महतले भेटपछिको तस्बिर सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गरेका छन्। यद्यपि, भेटमा के–कस्ता विषयमा छलफल भयो भन्नेबारे दुवै नेताले सार्वजनिक रूपमा कुनै जानकारी दिएका छैनन्।
कांग्रेसभित्र नेतृत्व, संगठन र आगामी राजनीतिक रणनीतिका विषयमा बहस चलिरहेका बेला शीर्ष नेताबीच भएको यो भेटलाई चासोका साथ हेरिएको छ। भेटको एजेन्डाबारे औपचारिक धारणा सार्वजनिक नभए पनि यसले पार्टीभित्रको राजनीतिक गतिविधिलाई थप चर्चामा ल्याएको छ।












