माया भनेकै यस्तो होला’को नयाँ पोस्टर सार्वजनिक
काठमाडौं।आगामी भदौ २६ गतेदेखि प्रदर्शनमा आउने नेपाली चलचित्र ‘माया भनेकै यस्तो होला’ को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। निर्माण टिमले सोमबार सार्वजनिक गरेको पोस्टरमा चलचित्रका मुख्य कलाकारहरूलाई विवाहपूर्वको हल्दी समारोहको उल्लासपूर्ण वातावरणमा प्रस्तुत गरिएको छ।
सार्वजनिक पोस्टरको केन्द्रमा अभिनेता दिल श्रेष्ठ हल्दी समारोहमा रमाइरहेको अवस्थामा देखिन्छन्। उनीसँगै वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, लक्ष्मी गिरी, सृष्टि श्रेष्ठ, नीति शाह र नम्रता श्रेष्ठ पनि उत्साह र खुशीले भरिएको माहोलमा प्रस्तुत छन्।
पोस्टरले पारिवारिक सम्बन्ध, प्रेम र विवाहको उत्सवलाई उजागर गरेको भन्दै दर्शकमाझ चलचित्रप्रति थप चासो बढाउने अपेक्षा गरिएको निर्माण पक्षले जनाएको छ। यसअघि सार्वजनिक गरिएका सामग्रीले पनि सामाजिक–पारिवारिक कथावस्तु बोकेको चलचित्र हुने संकेत दिएका छन्।
निर्माण टिमका अनुसार चलचित्रमा प्रेम, परिवार र सम्बन्धका विविध भावनात्मक पाटाहरू समेटिएका छन्। हल्दी समारोहको रंगीन झलकसहित सार्वजनिक गरिएको नयाँ पोस्टर अहिले सामाजिक सञ्जालमा चर्चामा रहेको छ।












