तनहुँको बस दुर्घटनाका मृतकहरुको शव भारत पठाइयो
काठमाडौं । तनहुँको आँबुखैरनी नजिकै मर्स्याङ्दी नदीमा भएको बस दुर्घटनाका मृतकहरुको शव भारत पठाइएको छ ।मृतक २७ जनामध्ये २५ जनाको शव भारतीय सेनाको विमानमार्फत र २ जनाको शव स्थलमार्ग हुँदै पठाइएको हो । भारतको पश्चिम बंगाल स्थित पानागढबाट चितवनको भरतपुर आएको भारतीय सेनाको विमानमार्फत उनीहरुको शव पठाइएको चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभयो ।उहाँका अनुसार दुर्घटनामा ज्यान गुमाएका २५ जना महाराष्ट्रको जलगाउँ जिल्लाका भएको पाइएको छ । त्यस्तै मृतक मध्ये चालक र सहचालक भने गोरखपुरका भएको पाइएपछि स्थलमार्ग हुँदै शव पठाइएको छ । दुर्घटनाका घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिन आज नै भारतीय युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्से र महाराष्ट्रका विधायक सञ्जय शुभकरे नेपाल आएका थिए ।
उनीहरु पनि सोही विमान मार्फत स्वदेश फर्किएका छन् । नेपाल घुम्न आएका पर्यटक चढेको भारतीय नम्बर प्लेटको बस पोखराबाट काठमाडौं आउने क्रममा हिजो दुर्घटनामा परेको थियो । यसैबीच, तनहुँको आँबुखैरनीमा हिजो भएको बस दुर्घटनाका घाइतेहरुसँग गृहमन्त्री रमेश लेखक र भारत सरकारकी युवा तथा खेलकुद राज्यमन्त्री रक्षा निखिल खाड्सेले शिक्षण अस्पतालमा भेट गर्नुभएको छ ।सो क्रममा गृहमन्त्री लेखकले दुर्घटना लगत्तै नेपाली सेना र नेपाल प्रहरीले तत्काल उद्धार गरेका कारण थप मानवीय क्षति हुन नपाएको बताउनुभयो । सोही क्रममा राज्यमन्त्री खाड्सेले छिटो उद्धार गरेर केही नागरिकको ज्यान बचाउने काम गरेको भन्दै सरकार र उद्धार कार्यमा संलग्न सुरक्षाकर्मीलाई धन्यवाद दिनुभएको छ ।