सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले दिए राजीनामा
धनगढी।सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले पदबाट राजीनामा दिएका छन्। उनले बिहीबार प्रदेश प्रमुख नजिर मियाँसमक्ष राजीनामा बुझाएका हुन्। राजीनामा बुझाउनुअघि शाहले प्रदेशसभा बैठकलाई सम्बोधन गर्दै पदबाट हट्ने घोषणा गरेका थिए।

नेकपा (एमाले) ले सरकारलाई दिएको समर्थन फिर्ता लिएपछि शाह नेतृत्वको सरकार अल्पमतमा परेको थियो। बजेट बाँडफाँड तथा विषयवस्तुमा कांग्रेस र एमालेबीच विवाद बढेपछि एमालेले असार ३१ गते समर्थन फिर्ता लिएको थियो। त्यसपछि प्रदेश सरकार बजेटविहीन अवस्थामा पुगेको थियो।


समर्थन फिर्ता लिएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्थाअनुसार आज शाहका लागि विश्वासको मत लिने वा राजीनामा दिने अन्तिम दिन थियो। नेकपा र एमालेबीच नयाँ सत्ता समीकरण बनेपछि विश्वासको मत प्राप्त गर्ने सम्भावना नरहेपछि शाहले राजीनामा दिएका हुन्।
शाहको राजीनामासँगै सुदूरपश्चिममा नयाँ सरकार गठनको बाटो खुलेको छ। एमालेको समर्थनमा नेकपाका संसदीय दलका नेता खगराज भट्टलाई मुख्यमन्त्री बनाउने तयारी गरिएको छ।















