प्रमाणबिना आरोप लगाउँदा सांसद सुनारमाथि उठ्यो नैतिकताको प्रश्न
काठमाडौं।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद खगेन्द्र सुनारले नेपाल प्रहरीको सामग्री खरिदमा अनियमितता भएको दाबी गरेपछि उनको अभिव्यक्तिको शैलीलाई लिएर प्रश्न उठेको छ।
सार्वजनिक लेखा समितिको बैठकमा सुनारले प्रहरीका जुत्ता, मोजा, पोशाक तथा लाठी खरिदमा आर्थिक अनियमितता भएको आशय व्यक्त गर्दै छानविनको माग गरेका थिए। नेपाल प्रहरीका महानिरीक्षक दानबहादुर कार्कीले भने खरिद प्रक्रियामा कुनै आर्थिक अनियमितता नभएको स्पष्ट पारे।

भ्रष्टाचार र अनियमिततामाथि प्रश्न उठाउनु सांसदको जिम्मेवारी भए पनि गम्भीर आरोप पुष्टि गर्न तथ्य, कागजात र प्रमाण आवश्यक हुन्छ। प्रमाणबिना सार्वजनिक संस्थामाथि आरोप लगाउँदा सम्बन्धित संस्था तथा व्यक्तिको प्रतिष्ठामा असर पर्न सक्ने भन्दै सुनारको अभिव्यक्तिमाथि आलोचना भएको छ।
सुनार यसअघि पनि विभिन्न सार्वजनिक अभिव्यक्तिका कारण विवादमा पर्दै आएका छन्। शिक्षक, अदालत तथा महिला अधिवक्तालाई लक्षित अभिव्यक्ति र विभिन्न मुद्दामा उनको संलग्नता समेत सार्वजनिक चर्चामा आएको छ।
जनप्रतिनिधिले जनताको आवाज उठाउनु आवश्यक भए पनि त्यसका लागि तथ्य र प्रमाणसहित जिम्मेवार ढंगले प्रस्तुत हुनुपर्ने देखिन्छ। आरोपको गम्भीरता जति ठूलो हुन्छ, त्यसको प्रमाणको आवश्यकता पनि त्यति नै ठूलो हुन्छ।












