फोनिजले ६ पत्रकारलाई सम्मान गर्दै भन्यो– मातृभाषा पत्रकारिताको आवाज अझ बुलन्द बनाऔँ
काठमाडौं।नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) ले आफ्नो २७औँ स्थापना दिवस तथा तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०८३ को समापन अवसरमा ६ जना पत्रकारलाई सम्मान तथा पुरस्कार प्रदान गरेको छ ।
राष्ट्रिय पत्रकारिता सम्मान–२०८३ बाट वरिष्ठ पत्रकारद्वय डण्ड गुरुङ (सिन्धुली) र विमला तुम्खेवा (तेह्रथुम) सम्मानित भएका छन् ।काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले उहाँहरूलाई जनही २५ हजार रुपैयाँसहित सम्मानपत्र प्रदान गर्नुभयो ।




त्यस्तै, फोनिज राष्ट्रिय पत्रकारिता पुरस्कारबाट तीर्थमान बल (काभ्रे), सरिता श्रेष्ठ (धादिङ) र अविनाश चौधरी (कैलाली) पुरस्कृत भएका छन् । उहाँहरूलाई पनि जनही २५ हजार रुपैयाँसहित प्रशंसापत्र प्रदान गरिएको छ ।
फोनिज राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मान नेवा भाषाको साप्ताहिक पत्रिका ‘लहना’ लाई प्रदान गरिएको छ । पत्रिकाका सम्पादक सुरेन्द्रभक्त श्रेष्ठलाई सम्मानपत्र हस्तान्तरण गर्दै २५ हजार रुपैयाँ नगद प्रदान गरिएको हो ।


फोनिज अध्यक्ष लक्की चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो ।













