नाइमा एक्स्पोमा अटो लोनको आकर्षक अफर, बैंकका स्टलमा बढ्यो सेवाग्राहीको भीड
काठमाडौं।नाइमा नेपाल मोबिलिटी एक्स्पो २०२६ मा सहभागी बैंकहरूले सवारीसाधन खरिदका लागि आकर्षक अटो लोन योजना सार्वजनिक गरेका छन्।एक्स्पो आयोजक नेपाल अटोमोबाइल्स इम्पोर्टर्स एन्ड म्यानुफ्याक्चर्स एसोसिएसन (नाइमा)सँग साझेदारी गरेका ग्लोबल आइएमई बैंक, सिद्धार्थ बैंक र एनएमबी बैंकले मेलास्थलबाटै कर्जा सम्बन्धी सेवा तथा परामर्श उपलब्ध गराइरहेका छन्।


बैंकहरूले आधारदरमा ०.५ देखि १ प्रतिशतसम्मको प्रिमियममा कर्जा उपलब्ध गराउने तथा सेवा शुल्क ०.५ प्रतिशत मात्रै लिने व्यवस्था गरेका छन्।सवारीसाधन छनोट गरेपछि ग्राहकले बैंकका स्टलमा पुगेर कर्जाका लागि नाम दर्ता तथा आवेदन दिन सक्ने व्यवस्था गरिएको छ।
ग्लोबल आइएमई बैंकका एसएमई तथा रिटेल बैंकिङ म्यानेजर मन्जिल बिष्टका अनुसार एक्स्पोमा आउने सेवाग्राहीसँगै अटो लोनबारे जानकारी लिने र आवेदन दिनेहरूको संख्या पनि बढिरहेको छ ।


सिद्धार्थ बैंकले एक्स्पोमा संकलन भएका ग्राहकको विवरण केन्द्रीय कार्यालयमार्फत सम्बन्धित शाखासँग जोड्ने व्यवस्था गरेको जनाएको छ । एनएमबी बैंकले पनि नाइमालाई लक्षित गर्दै ब्याजदर परिमार्जन गरी आकर्षक कर्जा सुविधा उपलब्ध गराइरहेको जनाएको छ ।
नेपालमा दिगो, हरित तथा प्रविधिमैत्री यातायात प्रणाली प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको एक्स्पो साउन ३१ गतेसम्म सञ्चालन हुनेछ । एक्स्पोमा नयाँ विद्युतीय कार, ई–स्कुटर तथा विद्युतीय व्यावसायिक सवारीसाधनप्रति अवलोकनकर्ताको आकर्षण देखिएको छ ।
















