खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’दल दर्ता प्रक्रियामा – Sagarmathapana:: Online News Portal

खगेन्द्र सुनारको नेतृत्वमा ‘हाम्रो पार्टी नेपाल’दल दर्ता प्रक्रियामा

   २०८२ कार्तिक २१ गते  

काठमाडौं-अभियन्ता खगेन्द्र सुनारले नयाँ राजनीतिक दल ‘हाम्रो पार्टी नेपाल’ दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएका छन्।सुनारको सभापतित्वमा गठित उक्त दलको दर्ता निवेदन हाल आयोगमा अध्ययनको चरणमा रहेको आयोगले जनाएको छ।

दलले आगामी निर्वाचनका लागि ‘गोलो घेराभित्रको लाइक (👍) चिन्ह’ आफ्नो चुनाव चिन्हका रूपमा प्रस्ताव गरेको छ।

निर्वाचन आयोगका अनुसार, दल दर्ता प्रक्रियामा आवश्यक सबै कागजात, प्रमाणपत्र र समर्थकहरूको सनाखत पूरा भएपछि मात्रै औपचारिक प्रमाणपत्र प्रदान गरिनेछ। आयोगले यसका लागि पाँच सय समर्थकहरूको नागरिकता प्रतिलिपि र उनीहरूको जिल्ला–वार विवरणका आधारमा सनाखत प्रक्रिया सुरु गरेको छ।

‘हाम्रो पार्टी नेपाल’ का दर्ता प्रक्रिया व्यवस्थापक रामबहादुर मिजारका अनुसार, आयोगले तोकेको समयसीमा भित्र सबै दस्तावेज बुझाउने तयारी भइरहेको छ।

उनका शब्दमा, “हाल हामी सनाखत प्रक्रियामा छौँ।सबै कागजात तयार भइसकेका छन्।यही कात्तिक ३० भित्र दल दर्ता प्रमाणपत्र पाउने अपेक्षा गरेका छौँ।”

निर्वाचन आयोगले पनि राजनीतिक दल दर्ताको अन्तिम म्याद यही कात्तिक ३० गतेसम्म तोकेको छ।प्रक्रिया पूरा भएपछि सुनार नेतृत्वको पार्टीलाई आधिकारिक रूपमा दर्ता प्रमाणपत्र प्रदान गरिनेछ।

राजनीतिक विश्लेषकहरूको भनाइमा, खगेन्द्र सुनारको यो कदम हालको अस्थिर राजनीतिक अवस्थाबीच नयाँ वैकल्पिक राजनीतिक शक्ति निर्माणको प्रयासका रूपमा देखिएको छ।डिजिटल माध्यममा सक्रिय युवाहरू र नयाँ पुस्तालाई राजनीतिमा आकर्षित गर्ने लक्ष्यसहित ‘हाम्रो पार्टी नेपाल’ ले आफ्नो अभियान सुरु गरेको जनाइएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै