इनिसा विकको मृत्युप्रति न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन – Sagarmathapana:: Online News Portal

इनिसा विकको मृत्युप्रति न्यायको माग गर्दै माइतीघर मण्डलामा प्रदर्शन

   २०८२ फाल्गुन २७ गते  

काठमाडौं।सुर्खेतमा कक्षा ११ मा अध्ययनरत छात्रा इनिसा बि.क. रहस्यमय अवस्थामा मृत फेला परेको घटनामा न्यायको माग गर्दै बुधबार काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरिएको छ। विभिन्न विद्यार्थी संगठन, अधिकारकर्मी तथा सर्वसाधारणले घटनाको निष्पक्ष छानबिन र दोषीलाई कडा कारबाहीको माग गर्दै विरोध प्रदर्शन गरेका हुन्।

प्रदर्शनकारीहरूले “इनिसालाई न्याय देऊ”, “दोषीलाई कारबाही गर”, “महिलामाथि हुने हिंसा बन्द गर” जस्ता नाराबाजी गर्दै सरकार र सम्बन्धित निकायको ध्यानाकर्षण गराएका थिए। उनीहरूले घटनाको सत्यतथ्य सार्वजनिक गर्न र पीडित परिवारलाई न्याय दिलाउन दबाब दिएका छन्।

सुर्खेतको गुर्भाकोट नगरपालिका–६ बडाखोली घर भएकी इनिसा बि.क. ट्युसन पढ्न जान्छु भन्दै घरबाट निस्किएकी थिइन्। परिवारका अनुसार केही समयपछि उनकी आमालाई अज्ञात नम्बरबाट फोन आएको थियो। फोन गर्ने व्यक्तिले छोरी सुर्खेतस्थित सहिद पार्कमा बेहोस अवस्थामा रहेको जानकारी दिएका थिए।

घटनास्थल पुगेका परिवारका सदस्यले उनलाई रगताम्य अवस्थामा फेला पारेका थिए। उनलाई तत्काल उपचारका लागि अस्पताल लगिएको भए पनि चिकित्सकले मृत घोषणा गरेका थिए।

घटनापछि प्रहरीले विस्तृत अनुसन्धान सुरु गरेको जनाएको छ। प्रारम्भिक अनुसन्धानका क्रममा एक जनालाई नियन्त्रणमा लिएको बुझिएको छ भने घटनाको वास्तविक कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यस घटनाले स्थानीय समुदाय मात्र होइन, देशभर नै आक्रोश र चिन्ता बढाएको छ। प्रदर्शनकारीहरूले पीडितलाई न्याय नपाएसम्म आन्दोलन जारी रहने चेतावनी दिएका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै