फेक रेस्क्यु प्रकरणमा थप एक पक्राउ – Sagarmathapana:: Online News Portal

फेक रेस्क्यु प्रकरणमा थप एक पक्राउ

   २०८२ फाल्गुन २७ गते  

काठमाडौं।विदेशी पर्यटकको नाममा ‘फेक रेस्क्यु’ गरी बिमा रकम ठगी गर्ने प्रकरणमा प्रहरीले थप एक जनालाई पक्राउ गरेको छ।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले सिन्धुपाल्चोक घर भई सोलु दूधकुण्ड नगरपालिका–१ बस्ने ५० वर्षीय पासाङ शेर्पालाई बुधबार पक्राउ गरेको हो।

सिआइबीका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) शिवकुमार श्रेष्ठका अनुसार शेर्पाले उच्च हिमाली क्षेत्रमा पदयात्रामा रहेका विदेशी पर्यटकलाई स्वास्थ्य समस्या परेको देखाई हेलिकोप्टरबाट उद्धार गरिएको नक्कली विवरण तयार गरी बिमा कम्पनीबाट रकम दाबी गरेको आरोप छ।

अनुसन्धानका क्रममा उनले पानोरमा हिमालय ट्रेकिङ एण्ड एक्स्पिडिसन प्रालिमार्फत नक्कली कागजात तयार गरी बिमा रकम ठगी गरेको खुलेको प्रहरीले जनाएको छ।

यसअघि पनि सोही प्रकरणमा संलग्न भएको आरोपमा १० जना पर्यटन व्यवसायी तथा अस्पताल सञ्चालकलाई प्रहरीले पक्राउ गरिसकेको छ।

प्रहरीका अनुसार उक्त गतिविधिले अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिष्ठामा असर पुर्‍याउने भएकाले मुलुकी अपराध संहिता, २०७४ को दफा ५१ (राष्ट्रहित प्रतिकूल काम गर्न नहुने) तथा संगठित अपराध निवारण ऐन, २०७० अन्तर्गत अनुसन्धान भइरहेको छ।

पक्राउ परेका शेर्पालाई जिल्ला अदालत काठमाडौंबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको सिआइबीले जनाएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै