प्रधानमन्त्री सुशीला कार्कीले यस वर्ष दसैंमा टीका–जमरा नलगाउने
काठमाडौं-प्रधानमन्त्री सुशीला कार्कीले यस वर्षको बडादसैंमा टीका र जमरा नलगाउने निर्णय गर्नुभएको छ। जेन–जी आन्दोलनका क्रममा आफ्नो जीवन आहुति दिएका युवाप्रति श्रद्धाञ्जली स्वरूप यसपालि टीका–जमरा नलगाउने घोषणा गर्नुभएको हो।
प्रधानमन्त्रीको सचिवालयले सार्वजनिक गरेको विज्ञप्तीमा भनिएको छ, “बडादसैं हर्षोल्लासका साथ मनाइने सांस्कृतिक पर्व भए पनि युवापुस्ताले हालैको आन्दोलनमा ज्यान गुमाएको पीडादायी घटनालाई सम्मान गर्दै प्रधानमन्त्रीज्यूले यसपालि टीका जमरा नलगाउने निर्णय गर्नुभएको छ।”
यससँगै प्रधानमन्त्रीले देशवासीलाई टीका लगाउने कार्यक्रम समेत नगर्ने स्पष्ट पारिएको छ। शुभकामना सन्देशमार्फत उहाँले तोकिएको मितिमा निर्वाचन सम्पन्न गर्ने सरकारको अटल प्रतिबद्धता दोहोर्याउँदै सुशासन कायम गर्ने प्रतिज्ञा व्यक्त गर्नुभएको छ।
प्रधानमन्त्री कार्कीले हालैको आन्दोलनलाई “युवा पुस्ताको अभूतपूर्व योगदान” भन्दै सरकार त्यसकै जगमा बनेको स्मरण गर्नुभयो। साथै, दसैंले पारिवारिक एकता, सामाजिक मेलमिलाप र सद्भाव विस्तार गर्न योगदान पुगोस् भन्ने शुभकामना दिनुभयो।












