TAAN, NTB र UNDPको सहकार्यमा डिजिटल पर्यटन प्रवर्द्धन तथा एआई तालिम सुरु
काठमाडौं।ट्रेकिङ एजेन्सीज् एसोसिएसन अफ नेपाल (TAAN) को आयोजनामा, नेपाल पर्यटन बोर्ड (NTB) र युएनडीपीको सहकार्यमा सञ्चालन हुने चारदिने डिजिटल पर्यटन प्रवर्द्धन तथा एआई तालिम मंसिर १४ गते एक औपचारिक समारोहका बीच उद्घाटन गरिएको छ।
३० जनाको सहभागितामा सुरु भएको तालिम मंसिर १७ गते सम्पन्न हुनेछ।





उद्घाटन कार्यक्रम TAAN का अध्यक्ष सागर पाण्डेको अध्यक्षतामा सम्पन्न भयो भने नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपक राज जोशी प्रमुख अतिथि रहे। कार्यक्रम राजु गुरुङले समन्वय गरेको र अम्बिर गुरुङले सह–समन्वयकको भूमिका निर्वाह गरेका थिए।
उद्घाटन सत्रमा सह–समन्वयक अम्बिर गुरुङले स्वागत मन्तव्य दिँदै तालिमले पर्यटन क्षेत्रमा कार्यरत जनशक्तिलाई डिजिटल सीप तथा एआई प्रविधि अपनाउन प्रेरित गर्ने अपेक्षा व्यक्त गरे।
कार्यक्रममा सागर पाण्डे (अध्यक्ष, TAAN) राम प्रसाद सेढाई, सीईओ,TAAN कर्मा शेर्पा वरिष्ठ उपाध्यक्ष लगायतका पदाधिकारीहरूको उपस्थिति रहेको थियो।
TAAN अध्यक्ष पाण्डेले द्रुत गतिमा विकसित हुँदै गएको डिजिटल प्रविधि र कृत्रिम बुद्धिमत्ताले (एआई)विश्व पर्यटन क्षेत्रमा ठूलो परिवर्तन ल्याइरहेको उल्लेख गर्दै,नेपालले पनि ती प्रविधि समयमै अंगिकार गर्नुपर्ने बताए।TAAN डिजिटल साक्षरता प्रवर्द्धनमा अग्रसर रहेको उनले जोड दिए।



नेपाल पर्यटन बोर्ड (CEO,)दीपक राज जोशीले आधुनिक पर्यटन प्रवर्द्धनका लागि प्रभावकारी डिजिटल रणनीति अत्यावश्यक भएको उल्लेख गरे। उनले एआई–आधारित समाधानहरूले नेपालको अन्तर्राष्ट्रिय पहिचानलाई थप मजबूत बनाउँदै क्षमतामा सुधार ल्याउने बताए।
TAAN CEO राम प्रसाद सेढाईले निरन्तर सीप अभिवृद्धि नेपालका ट्रेकिङ तथा यात्रा व्यवसायका लागि महत्वपूर्ण रहेको बताए।यस्ता तालिमहरूले सहभागीहरूलाई आफ्ना संस्थाहरूमा डिजिटल उपकरण र प्रविधि प्रभावकारी रूपमा प्रयोग गर्न सक्षम बनाउने विश्वास व्यक्त गरे।
TAAN वरिष्ठ उपाध्यक्ष,कर्मा शेर्पाले पर्यटन विकासका लागि डिजिटल रूपान्तरण अब विकल्प नभई अनिवार्य बनेको बताए। उनले पर्यटन व्यवसायीहरूलाई प्रविधिमुखी रणनीति अपनाएर नेपालको विश्व पर्यटन बजारमा उपस्थिति अझ सशक्त बनाउन आग्रह गरे।


मंसिर १७ सम्म सञ्चालन हुने यो तालिमले सहभागीहरूलाई डिजिटल पर्यटन प्रवर्द्धनका व्यावहारिक सीप, एआईको प्रयोग, अनलाइन मार्केटिङ, सामग्री निर्माण तथा डिजिटल रणनीति विकासका बारेमा ज्ञान प्रदान गर्ने लक्ष्य राखेको छ। यसले नेपालको पर्यटन क्षेत्रलाई डिजिटल युगमा थप प्रतिस्पर्धी र सक्षम बनाउने अपेक्षा गरिएको छ।












