काठमाडौँ महानगरपालिकाद्वारा बाढी प्रभावितका लागि आश्रय र राहत व्यवस्था – Sagarmathapana:: Online News Portal

काठमाडौँ महानगरपालिकाद्वारा बाढी प्रभावितका लागि आश्रय र राहत व्यवस्था

   २०८२ आश्विन १९ गते  

काठमाडौँ-अविरल वर्षाका कारण बाढी र डुबानको जोखिममा परेका स्थानीय बासिन्दाहरूका लागि काठमाडौँ महानगरपालिकाले तत्काल राहत तथा आश्रयको व्यवस्था गरेको छ। महानगरपालिकाले बाढी प्रभावित विद्यालयहरूमा आश्रय लिइरहेका नागरिकका लागि सुख्खा खाद्यान्न र आधारभूत सुविधाहरू उपलब्ध गराइरहेको जनाएको छ।


महानगर प्रहरीमार्फत तत्कालका लागि खाद्य सामग्री वितरण गरिएको छ भने महानगरको शिक्षा विभागले सबै विद्यालयहरूलाई थप व्यवस्था गर्न निर्देशन दिएको छ। साथै, जोखिममा रहेका बस्तीहरू र भौतिक सम्पत्तिलाई सुरक्षित राख्नका लागि जनशक्ति, स्रोत र उपकरण परिचालन गरिएको महानगरले जनाएको छ।

महानगरका अनुसार, करिब ७० वटा सामुदायिक विद्यालयहरूलाई अस्थायी आश्रयस्थलका रूपमा तयारी अवस्थामा राखिएको छ। तीमध्ये ४ विद्यालयमा प्रभावितहरूलाई स्थानान्तरण गरी राखिएको छ।


हाल आश्रयमा रहेका व्यक्तिहरूको विवरण:

  1. विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर: ७० जना
  2. गुह्येश्वरी माध्यमिक विद्यालय, थापाथली: ५२ जना
  3. जन विकास माध्यमिक विद्यालय, कुलेश्वर: ५२ परिवार (२५१ जना)
  4. महेन्द्र सरस्वती आधारभूत विद्यालय, टेकु: २० जना

महानगरले आश्रयस्थलमा खाना, शौचालय, खानेपानी र अन्य आधारभूत सुविधाहरूको व्यवस्था गरेको जनाएको छ। साथै, अधिकारीहरूलाई जोखिमयुक्त क्षेत्रहरूमा निरन्तर खटाइएको छ।

महानगरका अनुसार, नागरिकको सुरक्षाका लागि २४ घण्टा सञ्चालन हुने आपतकालीन संयन्त्र परिचालन गरिएको छ। बाढी, डुबान वा अन्य विपदका कारण समस्यामा परेका नागरिकले तलका हेल्पलाइन नम्बरहरूमा सम्पर्क गरी उद्धार र सहयोग पाउन सक्नेछन्।

सहायताका लागि सम्पर्क नम्बरहरू:

-१६६००१०५५११

-९८५१३५६५०९

-०१-५९०१७६४

– ०१-५९०१७६३

महानगरपालिकाले वर्षा रोकिएको छैन भन्दै सर्वसाधारणलाई अत्यावश्यक काम बाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै