प्रहरी संगठनलाई आईजीपी कार्कीको सन्देश: पारदर्शी सेवा, कडा सुरक्षा व्यवस्थापन – Sagarmathapana:: Online News Portal

प्रहरी संगठनलाई आईजीपी कार्कीको सन्देश: पारदर्शी सेवा, कडा सुरक्षा व्यवस्थापन

   २०८२ मंसिर २२ गते  

काठमाडौँ- प्रहरी महानिरीक्षक (आईजीपी) दान बहादुर कार्कीले  भर्चुअल माध्यममार्फत काठमाडौँ उपत्यका प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालयहरू, नेपाल प्रहरी प्रदेश कार्यालय, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरूलाई अपराध नियन्त्रण र समसामयिक सुरक्षा व्यवस्थापनका विषयमा स्पष्ट निर्देशन दिएका छन्।

आईजीपी कार्कीले देशभरका प्रहरी अधिकारीलाई अपराध नियन्त्रण तथा अनुसन्धान सुदृढ पार्ने, राजस्व चुहावट तथा तस्करी नियन्त्रणमा कडाइ गर्ने, सवारी दुर्घटना न्यूनीकरणका उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गर्ने र आसन्न निर्वाचनलाई लक्षित गर्दै सुरक्षा व्यवस्था उच्च सतर्कताका साथ परिचालन गर्न निर्देश दिए।

उहाँले प्रहरीको आचरण, व्यवहार तथा नागरिकमैत्री सेवा प्रवाहलाई थप सहज, पारदर्शी र विश्वसनीय बनाउन जोड दिंदै “प्रहरी सेवामा जनविश्वास बढाउने काम प्राथमिकतामा रहनुपर्छ” भन्ने संदेश पनि दिएका थिए।

बैठकका अवसरमा अपराध अनुसन्धान विभागका प्रमुख प्र.अ. म.नि. सुशील सिंह राठौरले पनि बोल्दै बस्तुनिष्ठ, प्रमाणमुखी तथा वैज्ञानिक अनुसन्धानलाई प्राथमिकतामा राख्न सबै इकाइलाई निर्देशन दिएका थिए। उनले अनुसन्धान प्रक्रियामा गुणस्तर, गति र कानुनी आधारलाई अझ सुदृढ बनाउन आग्रह गरे।

भर्चुअल माध्यमबाट भएको उक्त बैठकमा देशभरका प्रहरी इकाइ प्रमुखहरूको सहभागिता रहेको थियो।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै