चलचित्र निर्देशक समाजद्वारा बोर्ड र जाँचपास समितिका नव नियुक्त सदस्य सम्मानित
काठमाडौँ।नेपाल चलचित्र निर्देशक समाजले चलचित्र विकास बोर्डका नव नियुक्त सदस्य तथा केन्द्रीय चलचित्र जाँचपास समितिका सदस्यलाई विशेष सम्मान प्रदान गरेको छ। मंगलबार अनामनगरमा आयोजित कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो।
कार्यक्रममा चलचित्र विकास बोर्डका सदस्य सन्तोषबाबु लोहनी, वीरेन्द्रप्रसाद भट्ट, गणेश सुवेदी तथा जाँचपास समितिका सदस्य सम्पन्न श्रेष्ठ, कुबेर गिरी र भीमा मैनालीलाई सम्मान गरिएको हो।
नेपाल चलचित्र निर्देशक समाजका सचिव देवेन्द्र पाण्डेको सहजीकरणमा सञ्चालन भएको कार्यक्रममा स्वागत मन्तव्य अध्यक्ष जनकदिप पराजुलीले दिएका थिए। सम्मानित प्रतिनिधिहरूको तर्फबाट सन्तोषबाबु लोहनी, गणेश सुवेदी र कुबेर गिरीले आ–आफ्ना विचार राखेका थिए।
बोर्डका पूर्व अध्यक्ष तथा निर्देशक समाजका प्रमुख सल्लाहकार राजकुमार राईले हालको नेतृत्वको कामलाई सराहना गर्दै चलचित्रकर्मीको हितमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिए। उनले विसं २०२६ को ऐन विस्थापन गरी नयाँ ऐन ल्याउने बोर्डको पहललाई सकारात्मक ठहर गर्दै शुभकामना व्यक्त गरे।
कार्यक्रम कार्यबाहक अध्यक्ष सुभाष प्रसाद गजुरेलको संयोजकत्वमा सम्पन्न भएको हो। कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका अध्यक्ष मोहन निरौला, प्राविधिक संघका अध्यक्ष पुस्कर लामा, द्वन्द्व कलाकार संघका अध्यक्ष नारायण प्रधान, वरिष्ठ रंगपत्रकार शान्तिप्रिय, चलचित्र पत्रकार संघका महासचिव रघुनाथ सापकोटा लगायतका व्यक्तिहरूको सहभागिता रहेको थियो।












