शिक्षकहरु भदौको दोस्रो सातादेखि पुनःआन्दोलनमा उत्रिने – Sagarmathapana:: Online News Portal

शिक्षकहरु भदौको दोस्रो सातादेखि पुनःआन्दोलनमा उत्रिने

   २०८२ श्रावण २२ गते  

काठमाडौं-शिक्षकहरु फेरि आन्दोलनमा उत्रिने भएका छन्। नेपाल शिक्षक महासंघले भदौको दोस्रो सातादेखि चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ।

महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीका अनुसार, आज बसेको महासंघको बैठकले आन्दोलनको तयारी थाल्ने निर्णय लिएको हो। “यदि शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिबाट प्रतिनिधिसभामा प्रतिवेदन नपुग्ने वा प्रतिवेदन पुगेपश्चात पनि विगतका सहमति कार्यान्वयन नगर्ने अवस्था आयो भने आन्दोलन अपरिहार्य हुन्छ,” सुवेदीले रिपोर्टर्स नेपालसँग बताए।

महासंघले भदौ ३ र ४ गते राष्ट्रिय समितिको पूर्ण बैठक बोलाएको छ। सो बैठकले आन्दोलनको स्वरूप र तालिका तय गर्नेछ।

यसअघि, महासंघले शिक्षा ऐन जारी गर्न र विगतमा भएको सहमति कार्यान्वयन गर्न माग गर्दै चैत–वैशाखमा २९ दिन लामो आन्दोलन गरेको थियो। तर सहमति कार्यान्वयन नभएको भन्दै शिक्षकहरु पुनः संघर्षको बाटोमा उत्रिन लागेका हुन्।

शिक्षकहरुको माग सम्बोधनमा सरकार गम्भीर नभएको भन्दै महासंघ आक्रोशित देखिएको छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै