इजरायलमा कामदार पठाउन विज्ञापन, मासिक तलब २ लाख – Sagarmathapana:: Online News Portal

इजरायलमा कामदार पठाउन विज्ञापन, मासिक तलब २ लाख

   २०८१ असार ११ गते  

काठमाडौ‌ं । इजरायलमा केयरगिभर लागि आवेदन आह्वान गरिएको छ । वैदेशिक रोजगार विभागले ५ सय जना केयरगिभरका लागि आवेदन आह्वान गरेको हो ।

विभागले ८ सय जनाको आवेदन माग गरे पनि ५ सय जनालाई मुख्य उम्मेदवार र बाँकी ३ सय जनालाई वैकल्पिक उम्मेदवार बनाउने गरी सूचना आह्वान गरेको छ । जसमा ६० प्रतिशत महिला छन् भने ४० प्रतिशत पुरुषका लागि कोटा छुट्याइएको जनाएको छ ।

 

उनीहरुका लागि मासिक ५ हजार ८८० सेकेल  तलब तोकिएको छ । यो नेपाली २ लाख १० हजार रुपैयाँभन्दा बढी हुन आउँछ । सुरुमा एक वर्ष र बढीमा ५ वर्ष करार अवधि थप्न सकिने विभागले जनाएको छ ।

विभागले मंगलबार एक सूचना जारी गरी २१ दिनभित्र अनलाइनमार्फत् आवेदन दिन जानकारी दिएको हो । केयर गिभरका लागि २५ वर्ष पूरा भई ४५ वर्ष ननाघेका महिला पुरुष खोजेको छ ।

 

इजरायलमा कामदार पठाउन नेपाल सरकार र इजरायलबीच ०७७ असोज १४ गते सम्झौता भएको थियो । जसअनुसार ५ सय जना नेपाली श्रमिक पठाउने गरी बनेको प्रोटोकलमा वैदेशिक रोजगार विभाग र नेपालका लागि इजरायल राजदूतावासबीच ०७७ माघमा हस्ताक्षर गरेका थिए ।

कम्तीमा १.५ मिटर उचाइ र ४५ किलोग्राम तौल भएको, कम्तीमा १० कक्षा उत्तीर्ण गरी अनमी वा सिएमए सम्बन्धी विषयमा कम्तीमा १५ महिनाको अध्ययन पूरा गरेको वा प्लस टु वा सो सरहको शैक्षिक योग्यता हासिल गरी नेपाल सरकारबाट मान्यताप्राप्त तालिम प्रदायक संस्थाबाट केयर गिभर सम्बन्धी ३ महिनाको तालिम लिएको हुनुपर्ने योग्यता तोकेको छ ।

विभागको सूचनाअनुसार इजरायलमा विगतमा काम गरेको वा गरिहरेको व्यक्तिका आफन्त भने अयोग्य हुनेछन् । विभागले बाबु, आमा, पति ,पत्नी, छोरा, छोरी इजरायलमा बसोबास नगरेको वा कार्यरत नरहेको पनि शर्त राखेको छ । छनौट प्रक्रियाका लागि लाग्ने खर्च भने आवेदक आफैंले व्यहोर्नुपर्नेछ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै