निर्देशक भट्टराईको चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त सम्पन्न
काठमाडौँ। निर्देशक यादव भट्टराईको निर्देशनमा बन्ने नयाँ चलचित्र ‘झिल्को’ को शुभ मुहुर्त गरिएको छ। गौशाला स्थित गुहेस्वरी मन्दिरमा पुजा गर्दै चलचित्रको मुहुर्त गरिएको हो। सामाजिक र पारिवारिक कथामा बन्ने चलचित्रको यहि महिनाबाट छायाँकन प्रारम्भ हुने जानकारी दिइयो। करिव एक दशक अघि चलचित्र ‘झोला’ निर्देशन गरेर तारिफ पाएका निर्देशक भट्टराई आफुले तेस्रो चलचित्रको निर्देशन गर्दै गर्दा बल्ल यसरि मुहुर्त गर्ने अवसर जुरेको बताए। लेखक कृष्ण धरावासीद्वारा लिखित सतीप्रथाबारे कथा ‘झोला’माथि भट्टराईले बनाएको चलचित्रले समीक्षक र दर्शकबाट तारिफ बटुलेको थियो। चलचित्रको नाम अनुसार ‘झिल्को’ को मार्फत चलचित्रको मुहुर्त गरियो।
मिडिया फर कल्चरको ब्यानरमा निर्माण हुने चलचित्रमा सुनिल पोखरेल,विशाल पोखरेल,भोलाराज सापकोटा,वर्षा शिवाकोटी बाल कलाकार आयुषी ढकालको प्रमुख भुमिका रहनेछ। चलचित्रमा यादवसँगै अरुणदेव जोशी र कवि देवव्रतको संवाद तथा पटकथा रहेको छ। चलचित्रलाई सिनेमाटोग्राफर दीपक बज्राचार्यले खिच्नेछन्। चलचित्रमा आनन्द अधिकारीको गीत,चण्डी प्रसाद काफ्लेको संगीत र नागेन्द्र घिमिरेको प्रोडक्सन डिजाइन रहनेछ।












