साकेला उभौली: प्रकृति र पितृपूजाको चाड, किरात समुदायको समृद्ध सांस्कृतिक धरोहर
खोटाङ, वैशाख २९ – किरात समुदायको मौलिक र प्रमुख सांस्कृतिक चाड ‘साकेला उभौली’ आजदेखि औपचारिक रूपमा सुरु भएको छ। प्रकृति, पितृ र भूमिको आराधना गर्दै सुरु हुने यो चाड वैशाख पूर्णिमादेखि महिनाभर मनाइन्छ। साकेला सिली नाच, ढोल–झ्याम्टाको ताल, र परम्परागत गीतको स्वरले किरात बस्तीहरू गुञ्जायमान बन्न थालेका छन्।

साकेला उभौली मुख्यतया अन्नबाली रोप्ने मौसमसँग जोडिएको चाड हो। ‘खेतीपाती सप्रियोस्, रोगव्याधी नलागोस्, प्राकृतिक विपत्ति नपरोस्’ भन्ने कामनासहित किरात समुदायका घरघरमा तीन चुल्हा तथा भूमिको पूजा गरेर चाडको सुरुआत गरिन्छ।
खोटाङ, भोजपुर, उदयपुर, धनकुटा, ओखलढुङ्गा, इलाम, झापा, पाँचथर लगायत किरात समुदायको बाक्लो उपस्थिति भएका जिल्लाहरूमा विशेष उल्लासका साथ साकेला सिली नाचिन्छ। सामूहिक रूपमा गोलो घेरामा उभिएर ढोल र झ्याम्टाको तालमा कृषि कर्मसँग सम्बन्धित भाव–भङ्गीमा गरिने साकेला नाचले सामाजिक एकता, परम्परा र प्रकृतिप्रतिको आस्था झल्काउँछ।

खोटाङ जिल्लाको मझुवागढी, तुवाचुङ–जायाजुङ, जन्तेढुङ्गा, रूपाकोट, छोङ्खालगायत स्थानहरूमा रहेका साकेला थानहरूमा विधिपूर्वक पूजाआजा गरेर साकेला सिली सुरु गरिएको छ। जातीय पहिचान झल्काउने मौलिक भेषभूषामा सजिएका किरात समुदायका दाजुभाइ, दिदीबहिनी, बालकदेखि वृद्धसम्म सहभागी भएर नाचगान गर्छन्।

साकेला उभौली मात्र होइन, मङ्सिरे पूर्णिमामा मनाइने साकेला उधौली समेत किरात समुदायको वर्षमा दुई पटक मनाइने महत्वपूर्ण चाड हो। उभौली रोपाइँसँग र उधौली कटनीसँग जोडिएको हुँदा दुवै चाडमा प्रकृति र पितृको आभार प्रकट गरिन्छ।
दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका अन्तर्गत किरात ऐतिहासिक स्थल मझुवागढीबाट सुरु हुने औपचारिक कार्यक्रम महिनापछि माटीकोरे मैदानमा साकेला सिली प्रदर्शनीसहित समापन गरिन्छ। समापन समारोहमा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकायका अधिकारीहरू लगायत विविध क्षेत्रका व्यक्तिहरूलाई सहभागी गराएर साकेला सिली नाचिने परम्परा छ।

किरात राई यायोख्खा खोटाङका अध्यक्ष युगशन किरातका अनुसार साकेला चाडले धार्मिक सहिष्णुता, आपसी मेलमिलाप र सांस्कृतिक पहिचानलाई बलियो बनाउने काम गर्छ। “यसले पराइघर गएका छोरीचेली, बाउमाइतीबीच भेटघाट र सम्वादको अवसर पनि प्रदान गर्छ,” उनले बताए।

साकेला उभौलीको अवसरमा आज नेपाल सरकारले किरात समुदायका लागि सार्वजनिक बिदाको घोषणा गरेको छ। यस वर्ष बुद्धजयन्ती पनि यही दिन परेकाले साझा रूपमा बिदा दिइएको हो।
साकेला, केवल एक चाड होइन – यो किरात समुदायको जीवनशैली, संस्कृति र प्रकृतिप्रतिको कृतज्ञताको प्रतीक हो।












