एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू निःस्वार्थ भावनाका साथ एकतामा जुट्नुस्ः परराष्ट्रमन्त्री डा.राणा – Sagarmathapana:: Online News Portal

एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू निःस्वार्थ भावनाका साथ एकतामा जुट्नुस्ः परराष्ट्रमन्त्री डा.राणा

   २०८२ बैशाख २१ गते  

काठमाडौं।परराष्ट्रमन्त्री डा.आरजु राणा देउवाले गैरआवासीय नेपालीहरूलाई एकजुट भई अगाडि बढ्न आग्रह गरेकी छन् । शनिबार गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) उच्चस्तरीय समितिले आयोजना गरेको एकता महाधिवेशनमा सम्बोधन गर्दै उनले संस्थाभित्र राजनीति नगरी एकताबद्ध भई अगाडि बढ्न आग्रह गरिन् ।

‘एनआरएनए राजनीति गर्ने संस्था होइन, तपाईँहरू आफू आबद्ध पार्टीमा राजनीति गर्न सक्नुहुन्छ । संस्थाको पवित्र उद्देश्य पूरा गर्न निःस्वार्थ भावनाका एकताका लागि जुट्न म तपाईँहरूलाई आग्रह गर्दछु,’– उनले भनिन् ।

उनले एनआरएनको उद्देश्य पूरा गर्नका लागि एकबद्ध भई सक्रियतापूर्वक लाग्न र त्यसका लागि आफू र परराष्ट्र मन्त्रालयले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता व्यक्त गरिन् । पछिल्लो समय एनआरएनएमा विवाद देखिएको र उक्त विवाद समाधानका लागि सर्वोच्च अदालतको आदेशानुसार भइरहेको एकता महाधिवेशनलाई सफल पार्न भूमिका खेल्ने सबै धन्यवादको पात्र रहेको उनले उल्लेख गरिन् ।

‘तपाईँहरूले आफूभन्दा ठूलो संस्था र संस्थाभन्दा ठूलो देश हो भन्ने भावना बोकेकै कारण अहिले एकता महाधिवेशन सम्भव भएको हो । तपाईँहरू राजनीति गरेर मन्त्री र प्रधानमन्त्री बन्ने होइन, गैरआवासीय नेपालीहरूको हितका लागि हो । त्यसैले सङ्घमा राजनीति मिसाउनु उचित होइन,’– उनले भनिन् ।

सङ्घभित्र भएका मतभेद त्यागेर एकताका साथ एनआरएनएको उद्देश्य पूरा गर्नका लागि सबै एकजुट हुनुको विकल्प नभएको उनले दोहोर्याईन् । परराष्ट्रमन्त्री डा.राणाले विदेशमा रहेर नेपालप्रति देखाएको भावना आफूले बुझेको उल्लेख गर्दै विश्वमा नेपाली संस्कृति, खाना र पहिचानलाई फैलाउन निर्वाह गरेको भूमिका सराहनीय भएको बताईन् । उनले नेपालसँग स्रोतसाधन भए पनि विश्वमा विकास भइरहेको प्रविधि, नयाँ व्यवस्थापकीय कला र पुँजीको अभाव भएकाले त्यसको पूर्ति गैरआवासीय नेपालीहरूले गर्न सक्ने उल्लेख गरिन् । गैरआवासीय नेपालीहरूलाई नेपालमा लगानी बढाउन आग्रह गर्दै आर्थिक सुधारको बाटोमा सहकार्य गर्न आवश्यक रहेको मन्त्री राणाको भनाइ छ ।

परराष्ट्रमन्त्री डा राणाले परराष्ट्र मन्त्रालयले पनि नेपाली डायस्पोरालाई हेर्ने एकाइ गठन गरेको उल्लेख गर्दै त्यसबाट सहजीकरण तथा सेवा सुविधा उपलब्ध गराउन आफू प्रतिबद्ध रहेको बताईन् । ‘अहिले एनआरएन कार्डको पनि विषय चलिरहेको छ, यस विषयमा अहिले मस्यौदा बन्दै छ, मस्यौदामा धेरैभन्दा धेरै सेवा सुविधा समावेश गर्नेगरी काम भइरहेको छ,’– मन्त्री राणाले भनिन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै