टनेल २६’को प्रचारका लागि भुटानी टोली नेपालमा,मंगलबार ट्रेलर सार्वजनिक हुँदै
काठमाडौं।असोज २३ गते नेपालमा प्रदर्शन हुने तयारीमा रहेको भुटानी जम्बी हरर फिल्म ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’को प्रचारप्रसारका लागि निर्माण टोली नेपाल आइपुगेको छ।
निर्माता तथा अभिनेता साङ्गे छेल्ट्रिमको नेतृत्वमा १६ सदस्यीय भुटानी टोली सोमबार बिहान काठमाडौं आइपुगेको हो।निर्माण पक्षका अनुसार टोलीका थप पाँच सदस्यसमेत नेपाल आउने तयारीमा छन्।
![]()

नेपाल, भुटान र भारतको सहकार्यमा निर्माण गरिएको फिल्मको टिजर यसअघि नै सार्वजनिक भइसकेको छ। अब फिल्मको ट्रेलर मंगलबार काठमाडौंमा विशेष कार्यक्रमबीच सार्वजनिक गरिने भएको छ।ट्रेलर सार्वजनिक कार्यक्रममा सहभागी हुन फिल्मका निर्माता, निर्देशक, प्राविधिक तथा कलाकारसहितको टोली नेपाल आएको हो।
काठमाडौं विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै निर्माता तथा अभिनेता साङ्गे छेल्ट्रिमले फिल्म निर्माणका क्रममा एक वर्षभन्दा बढी समय मेहनत गरेको बताए। नेपाल र भुटानबीचको सहकार्यलाई अन्तर्राष्ट्रिय स्तरमा पुर्याउने उद्देश्यले फिल्म निर्माण गरिएको उनको भनाइ छ।

फिल्मका लेखक, निर्देशक तथा सम्पादक डीडी किन्लेले पनि नेपालमा फिल्म प्रदर्शनलाई लिएर आफूहरू उत्साहित रहेको बताए।उनका अनुसार फिल्म अहिले निर्माणको अन्तिम चरणमा पुगेको छ।
जम्बी हरर विधामा निर्माण गरिएको ‘टनेल २६ : द कर्स बिनिथ द माउन्टेन’ नेपाल, भुटान र भारतको सहकार्यमा बनेको भएकाले यसको नेपाल प्रदर्शनलाई निर्माण पक्षले विशेष रूपमा लिएको जनाएको छ।
फिल्म असोज २३ गतेदेखि नेपालका हलमा प्रदर्शनमा आउने तयारीमा छ।













