चीन–नेपाल सीमा बाढीपहिरो : खोजी तथा उद्धारमा पूर्ण क्षमता प्रयोग गर्न सीको निर्देशन
काठमाडौं।नेपाल–चीन सीमावर्ती क्षेत्रमा आएको बाढीपहिरोबाट प्रभावित तथा बेपत्ता भएकाहरूको खोजी र उद्धारका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङले उपलब्ध सबै क्षमता परिचालन गर्न निर्देशन दिएका छन्।
चिनियाँ सञ्चारमाध्यमका अनुसार नेपालतर्फ आएको पहिरो तथा बाढीले दक्षिण–पश्चिम चीनको सिजाङ स्वायत्त क्षेत्रस्थित केरुङ (ग्यिरोङ) बन्दरगाह आसपाससमेत प्रभावित भएको छ। घटनाका कारण बन्दरगाहतर्फ जाने सडक, सञ्चार तथा विद्युत् सेवा अवरुद्ध भएको जनाइएको छ।

राष्ट्रपति सीले बेपत्ताको खोजी तथा उद्धार कार्यलाई तीव्रता दिन, प्रभावितलाई राहत उपलब्ध गराउन र थप क्षति रोक्न आवश्यक कदम चाल्न निर्देशन दिएका छन्। साथै, विपद्को जोखिम न्यूनीकरणका लागि अनुगमन तथा पूर्वसूचना प्रणालीलाई थप प्रभावकारी बनाउन पनि जोड दिएका छन्।
चीनले प्रभावित क्षेत्रमा उद्धार तथा आपत्कालीन व्यवस्थापनका लागि सुरक्षाकर्मीसमेत परिचालन गरेको छ। ग्यिरोङ बन्दरगाह प्रभावित क्षेत्रमा १४५ जना जनसशस्त्र प्रहरीका अधिकारी तथा सैनिक पठाइएको चिनियाँ सञ्चारमाध्यमले जनाएको छ।

नेपालको रसुवा क्षेत्रमा पनि बाढीपहिरोले ठूलो क्षति पुर्याएको छ भने भोटेकोशी नदी आसपासका बस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा क्षति पुगेको छ। दुवै देशतर्फ उद्धार तथा राहत कार्य जारी छ।












