सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ अनुपस्थित – Sagarmathapana:: Online News Portal

सर्वदलीय बैठकमा प्रधानमन्त्री बालेन र गृहमन्त्री गुरुङ अनुपस्थित

   २०८३ श्रावण १३ गते  

काठमाडौं।सुनसरीमा भएको घटनालगायत समसामयिक विषयमा छलफल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को आह्वानमा सुरु भएको सर्वदलीय बैठकमा प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ र गृहमन्त्री सुधन गुरुङ सहभागी भएका छैनन् ।

रास्वपा सभापति रवि लामिछानेको आह्वानमा सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको हलमा बैठक सुरु भएको हो । सुनसरीमा एक जनाको मृत्यु हुनेगरी भएको घटनापछि सरकारको आलोचना भइरहेका बेला तराई–मधेशका विभिन्न क्षेत्रमा प्रदर्शनसमेत जारी छन् । यस्तो अवस्थामा घटनाबारे छलफल गर्न बोलाइएको बैठकमा सरकारका प्रमुख जिम्मेवार पदाधिकारीहरू नै अनुपस्थित भएका हुन् ।

बैठकमा नेपाली कांग्रेसका सभापति गगन थापा, संसदीय दलका नेता भीष्मराज आङ्देम्बे, नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड, नेकपा एमालेका महासचिव शंकर पोखरेल, श्रम संस्कृति पार्टीका आर्यन राई, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन, सांसद खुसी ओली तथा जनमत पार्टीका अध्यक्ष सीके राउतलगायत नेताहरू सहभागी छन् ।

रास्वपाका महामन्त्री विपिन आचार्यले सुनसरीको संवेदनशील घटनापछि सामाजिक सद्भाव र शान्ति–सुरक्षा कायम गर्न राजनीतिक तहबाट पनि साझा सन्देश आवश्यक भएकाले सर्वदलीय छलफल आयोजना गरिएको बताएका छन् ।

उनले प्रशासनिक प्रयास जारी रहे पनि राजनीतिक रूपमा सामूहिक सन्देश र अपिलमार्फत सामाजिक रूपमा फैलन सक्ने द्वेष न्यूनीकरण गर्दै सद्भाव र शान्ति–सुरक्षा कायम गर्न छलफल आयोजना गरिएको बताए ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै