चितवनमा राष्ट्रिय स्वतन्त्र पार्टीको विस्तारित बैठक सुरु
चितवन-राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को केन्द्रीय समितिको विस्तारित बैठक आजदेखि चितवनको सौराहामा सुरु भएको छ।दुई दिनसम्म चल्ने यो बैठकमा पार्टीका केन्द्रीय पदाधिकारी,सचिवालय सदस्य, प्रदेश र जिल्ला प्रतिनिधिहरू सहभागी भएका छन्।
बैठकमा पार्टीको राजनीतिक प्रतिवेदन, आगामी निर्वाचनका रणनीति, र संगठन सुदृढीकरणका एजेन्डा माथि विस्तृत छलफल हुने जनाइएको छ। रास्वपाका उपसभापति स्वर्णिम वाग्ले ले बैठकमा पार्टीको आगामी चुनावी प्रतिबद्धता (म्यानिफेष्टो) को खाका प्रस्तुत गर्ने तयारी गरेको स्रोतले जनाएको छ।
रास्वपाका प्रवक्ता अनुसार बैठकले देशभर पार्टी सुदृढीकरण र विस्तारका लागि नयाँ दिशा तय गर्ने अपेक्षा गरिएको छ। उनका अनुसार, संगठनात्मक सुधार, आर्थिक पारदर्शिता, र नीति निर्माणमा युवा पुस्ताको सहभागिता सुनिश्चित गर्ने विषयमा समेत गम्भीर छलफल हुनेछ।
बैठकमा सहभागी प्रतिनिधिहरूका लागि बसोबास र खानाको व्यवस्था पार्टीले नै गरेको छ।पार्टी स्रोतका अनुसार सहभागीबाट न्यून शुल्क लिई बैठक सञ्चालनका लागि आवश्यक खर्च संकलन गरिएको छ।
रास्वपाले हालै देशका विभिन्न स्थानमा आयोजना गरिएका जनसम्पर्क कार्यक्रममार्फत लोकप्रियता वृद्धि गरेको दाबी गरेको छ। चितवनको यो बैठकले पार्टीको आगामी राजनीतिक यात्रामा नयाँ गति दिने अपेक्षा गरिएको छ।












