आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा
काठमाडौं ।रूपन्देहीको रोहिणी खोला किनारमा निर्माण गर्न लागिएको नेपाल आयल निगमको प्रादेशिक इन्धन डिपोको डिपिआर अन्तिम चरणमा पुगेको छ।

हाल रूपन्देहीको भलवारीस्थित निगमको इन्धन डिपो स्थानान्तरण तथा क्षमता बिस्तार गर्ने योजनाअनुसार आयल निगमले रूपन्देहीको रोहिणी गाउँपालिका र ओमसतिया गाउपालिकाको सीमा पर्ने रोहिणी खोला किनारमा आधुनिक किसिमको नयाँ इन्धन डिपो निर्माण गर्न लागेको हो।

रूपन्देहीको भलवारीमा रहेको डिपोको स्टोरेज क्षमता कम भएको र हाल घना बस्ती बिस्तार समेत भएकोले निगमले रोहिणीमा अत्याधुनिक सुविधासहितको धेरै क्षमताको नयाँ डिपो निर्माण गर्न लागेको हो। करिब ३ अर्ब लागतमा डिपो निर्माण गर्ने अनुमान गरिएको भए पनि डिपिआर तयार भइसकेपछि मात्रै कुल लागत र डिजाइन यकिन हुने आयोजनाले जनाएको छ।














