डा. सिके राउतको पहलमा रामराजा प्रसाद स्वास्थ्यविज्ञानप्रतिष्ठान विधेयक संसद्मा
काठमाडौं।सप्तरीको राजविराजमा निर्माणाधीन रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पुगेको छ । स्वास्थ्य मन्त्रालयको स्वीकृति र कानुन तथा अर्थ मन्त्रालयको सहमतिपछि शुक्रबार मन्त्रिपरिषद् बैठकबाट पारित भएपछि प्रतिष्ठानसम्बन्धी विधेयक सङ्घीय संसद्मा पुगेको हो ।


जनमत अध्यक्ष डा.राउतकै अगुवाइमा अहिले प्रतिष्ठानसम्बन्धी विधेयक संसद्को दैलोमा पुगेको हो । संसद्बाट पारित भएपछि प्रतिष्ठान विभिन्न निर्धारित विषयमा अध्यापन गर्ने औपचारिक संस्थामा परिणत हुनेछ । रामराजा प्रसाद सिंह स्वास्थ्यविज्ञान प्रतिष्ठान पूर्वाधार तयार समितिका अध्यक्ष डा.पशुपति चौधरीले प्रतिष्ठान विधेयकले ऐनको रूप लिएपछि चिकित्साशस्त्रतर्फ स्नातकोत्तर र नर्सिङतर्फ स्नातक तहको पठनपाठन सुरु गर्नेगरी तयारी भइरहेको बताए । उनले नर्सिङतर्फ स्नातक तहसँगै राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा विद्यमान फ्याकल्टीलाई उपयोग गरी मेडिसिन, सर्जरी, स्त्री तथा प्रसूति रोग र हाडजोर्नी विषयमा आगामी शैक्षिक सत्रबाट स्नातकोत्तर पढाउने गरी तयारी थालिएको जानकारी दिए ।















