पुष्प व्यवसाय प्रवर्द्धनका लागि सरकार प्रतिबद्ध छ : अर्थमन्त्री
काठमाडौँ । अर्थमन्त्री जनार्दन शर्माले फूलको अनुसन्धान, उत्पादन र बजारीकरणमा ध्यान दिन आग्रह गरेको छन् । फ्लोरिकल्चर एसोसिएसन नेपालको आयोजना गरेको गोदावरी पुष्प प्रदर्शनीको उद्घाटन गर्दै उनले फूलको अनुसन्धान, उत्पादन र बजारीकरणमा ध्यान दिन आग्रह गरेको हुन् ।
साथै उनले यी कुराहरुमा सरकारले सहयोग गर्ने पनि प्रतिबद्धता व्यक्त गरे । पुष्प सबैका लागि महत्त्वपूर्ण भएको बताउँदै उनले नेपाल फूलमा आत्मनिर्भरको बाटो तर्फ उन्मुख हुनु पर्ने पनि बताए । ‘हामी फूलमा आत्मनिर्भर बनौँ’ उनले भने,‘हामीले अर्को वर्षदेखि माला आयात गर्न नपरोस् हामी सङ्कल्प गरौँ । हाम्रो देशको व्यापार घाटा घटाऔँ ।’
नेपालमा पुष्प खेती विस्तार भइरहेको तर पछिल्लो समय आएको कोरोना महामारीको कारणले त्यसमा केही प्रभाव परेको उनले बताए । यद्यपि, व्यापार व्यवसाय पुरानै अवस्थामा फर्केको बताउँदै उनले नेपालको अर्थतन्त्र बिस्तारै लयमा फर्किन लागेको बताए ।पुष्प खेतीलाई नगदे बालीको रूपमा लिएको बताउँदै उनले देशको आर्थिक क्षेत्रमा सहयोग पुर्याउने काम यसले गरेको पनि उनले बताए ।












