दिपिका शर्माले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि – Sagarmathapana:: Online News Portal

दिपिका शर्माले जितिन् मिस नेपाल नर्थ अमेरिका २०२६ को उपाधि

   २०८३ श्रावण १२ गते  

काठमाडौं।अमेरिकाको मेरिल्यान्ड प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी दिपिका शर्माले ‘मिस नेपाल नर्थ अमेरिका २०२६’ को उपाधि जितेकी छन्।

अमेरिकाको भर्जिनियास्थित सेन्टरभिल हाई स्कुलमा शनिबार, जुलाई २५ मा सम्पन्न ग्रान्ड फिनालेमा शर्माले उपाधि हात पारेकी हुन्। पोखरासँग पारिवारिक जरा जोडिएकी शर्माले आत्मविश्वास, प्रस्तुति, सञ्चार क्षमता तथा नेपाली संस्कृति र पहिचानको प्रतिनिधित्व गर्दै उपाधि जित्न सफल भएकी हुन्।


प्रतियोगितामा अनामिका श्रेष्ठ फर्स्ट रनरअप, साउथ क्यारोलिनाकी अनामिका खड्गी सेकेन्ड रनरअप तथा टेक्सासकी रेश्मा निरौला थर्ड रनरअप घोषित भए।

ड्रिम्स युनिभर्सलको आयोजनामा सम्पन्न प्रतियोगितामा यसपटक चार प्रमुख उपाधि प्रदान गरिएको थियो।आयोजकका अनुसार प्रतियोगिता शारीरिक सौन्दर्यमा मात्र सीमित नभई नेपाली महिलाको आत्मविश्वास, साहस, नेतृत्व क्षमता र सांस्कृतिक पहिचानलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको हो।

प्रतियोगितामा सहभागी विजेताहरूलाई बधाई दिँदै आयोजक संस्थाले उपाधि केहीले मात्र जिते पनि सबै सहभागी महिलाहरू अझ आत्मविश्वासी र सशक्त बनेर बाहिरिएको जनाएको छ।

मिस नेपाल नर्थ अमेरिका नेपाली डायस्पोराका युवतीहरूलाई आफ्नो नेपाली पहिचान र संस्कृतिसँग जोड्दै नेतृत्व तथा व्यक्तित्व विकासका लागि अवसर प्रदान गर्ने मञ्चका रूपमा परिचित छ।प्रतियोगिताका क्रममा सहभागीहरूले अमेरिकास्थित नेपाली दूतावाससँग समेत सांस्कृतिक पहिचान र नेपालको प्रवर्द्धनका विषयमा संवाद गरेका थिए।

प्रतियोगितामा १६ जना प्रतिस्पर्धी सहभागी भएका थिए।दिपिका शर्माको जितसँगै नेपाली डायस्पोरामा खुसी र उत्साह छाएको छ। आयोजकका अनुसार शर्माले नेपालमा आयोजना हुने ‘मिस नेपाल २०२७’ प्रतियोगितासँग सम्बन्धित अवसरसमेत प्राप्त गर्ने अपेक्षा गरिएको छ।

दिपिका शर्मालाई उपाधिका लागि नेपाली समुदाय तथा शुभेच्छुकहरूले बधाई दिँदै आगामी दिनमा थप सफलता र उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरेका छन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै