सुनसरीको देवानगञ्जमा कर्फ्यु हट्यो, निषेधाज्ञा भने कायमै
काठमाडौं।सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आज बिहान ७ बजेदेखि हटाइएको छ। कर्फ्यु हटाइए पनि देवानगञ्ज गाउँपालिका र हरिनगरा गाउँपालिकाभरि निषेधाज्ञा भने यथावत् राखिएको छ।
जिल्ला प्रशासन कार्यालय सुनसरीका अनुसार बिहान ७ बजेदेखि बेलुका ७ बजेसम्म पाँच जनाभन्दा बढी व्यक्ति एकै स्थानमा भेला हुन नपाउने गरी निषेधाज्ञा लागू गरिएको हो।
प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले जिल्लाको शान्ति–सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको र सर्वसाधारणको जनजीवन सहज बनाउने उद्देश्यले कर्फ्यु हटाइएको जानकारी दिएका छन्।
प्रशासनले शान्ति–सुरक्षा कायम राख्न तथा सम्भावित अप्रिय घटना हुन नदिन सर्वसाधारणलाई संयमित रहन र प्रशासनको आदेश पालना गर्न आग्रह गरेको छ।












