विश्वकै नम्बर १ लक्जरी होटल बन्यो शिन्ता मणि मुस्ताङ
काठमाडौं।नेपालको पर्यटन क्षेत्रले अन्तर्राष्ट्रिय स्तरमा महत्वपूर्ण उपलब्धि हासिल गरेको छ। मुस्ताङस्थित शिन्ता मणि मुस्ताङ अमेरिकी लक्जरी जीवनशैली पत्रिका Robb Report को ‘The 50 Greatest Luxury Hotels on Earth 2026’ सूचीमा विश्वकै नम्बर १ लक्जरी होटल बन्न सफल भएको छ।
विश्वभरका उत्कृष्ट लक्जरी होटलमध्ये चयन गरिएको सूचीमा शिन्ता मणि मुस्ताङले शीर्ष स्थान हासिल गरेसँगै नेपालको लक्जरी पर्यटनले अन्तर्राष्ट्रिय पहिचान थप बलियो बनाएको छ। Robb Report को २०२६ को सूची २४ जना लक्जरी ट्राभल विज्ञको मूल्याङ्कनमा आधारित रहेको जनाइएको छ।
मुस्ताङको हिमाली प्राकृतिक सौन्दर्य, स्थानीय संस्कृति, मौलिक जीवनशैली र उच्चस्तरीय आतिथ्यलाई समेट्दै सञ्चालनमा रहेको शिन्ता मणि मुस्ताङले छोटो समयमै अन्तर्राष्ट्रिय स्तरमा उल्लेखनीय पहिचान बनाएको हो। होटल Sherpa Hospitality Group अन्तर्गत सञ्चालन हुँदै आएको छ।
यसअघि पनि शिन्ता मणि मुस्ताङले अन्तर्राष्ट्रिय लक्जरी होटलका विभिन्न सूचीमा स्थान बनाउँदै आएको थियो। सन् २०२३ मा सञ्चालनमा आएको यो होटलले नेपालको साहसिक पर्यटनसँगै विश्वस्तरीय लक्जरी पर्यटन गन्तव्यका रूपमा मुस्ताङको सम्भावनालाई थप उजागर गरेको छ।
शिन्ता मणि मुस्ताङलाई विश्वकै नम्बर १ लक्जरी होटलको मान्यता प्राप्त हुनु नेपालको पर्यटन उद्योगका लागि महत्वपूर्ण उपलब्धि मानिएको छ। यसले आगामी दिनमा उच्चस्तरीय विदेशी पर्यटक आकर्षित गर्नुका साथै नेपालको पर्यटन ब्रान्डलाई विश्व बजारमा थप स्थापित गर्न योगदान पुग्ने अपेक्षा गरिएको छ।












