२९ वर्षपछि खुल्यो रहस्य : मुम्बईबाट उद्धार गरिएका १२८ नेपाली चेलीलाई नेपाल फर्काउन सुनील सेट्टीले तिरेका थिए विमान टिकट
काठमाडौं।भारतको मुम्बईस्थित चर्चित कमाठीपुरा रेडलाइट क्षेत्रबाट करिब २९ वर्षअघि उद्धार गरिएका १२८ नेपाली महिलालाई स्वदेश फर्काउन बलिउड अभिनेता सुनील सेट्टीले विमान टिकटको खर्च बेहोरेको खुलासा भएको छ।
सन् १९९६ फेब्रुअरीमा भारतीय प्रहरीले कमाठीपुरा क्षेत्रमा छापा मार्दा ४५६ जना महिलाको उद्धार गरेको थियो। उद्धार गरिएकामध्ये सयभन्दा बढी नेपाली महिला रहेको बताइएको छ। उनीहरूमध्ये चारिमाया तामाङ पनि थिइन्, जसलाई नेपालबाट भारत लगेर यौन शोषणमा धकेलिएको थियो।


उद्धारपछि भारतीय पक्षले उनीहरूलाई नेपाल फर्काउने पहल गरे पनि अधिकांशसँग नेपाली नागरिकता प्रमाणित गर्ने आवश्यक कागजात नभएका कारण स्वदेश फिर्तीमा समस्या भएको थियो। लामो समयसम्म उद्धार केन्द्रमै बस्न बाध्य भएका उनीहरू अन्ततः १२८ जनाको समूहमा विमानमार्फत नेपाल फर्किएका थिए।


तर उनीहरूलाई नेपाल फर्काउन विमान टिकटको व्यवस्था कसले गर्यो भन्ने विषय वर्षौँसम्म गोप्य नै रह्यो। सन् २०२० मा Vice लाई दिएको अन्तर्वार्ताका क्रममा चारिमाया तामाङले पहिलोपटक उनीहरूलाई नेपाल फर्काउन आवश्यक विमान भाडा सुनील सेट्टीले बेहोरेको खुलासा गरेकी थिइन्।
यस अभियानमा सुनील सेट्टीसँगै उनकी सासू आबद्ध सामाजिक संस्था तथा तत्कालीन जेट एयरवेजका मालिक नरेश गोयललगायतले समेत सहयोग गरेको बताइएको छ।

मानव बेचबिखनबाट प्रभावित महिलाहरू सुनिता दनुवार, चारिमाया तामाङलगायतले पछि स्थापना गरेको ‘शक्ति समूह’लाई मानव बेचबिखनबाट प्रभावित महिलाहरूले सञ्चालन गरेको विश्वकै पहिलो संस्थामध्ये एकका रूपमा चिनिन्छ।
यस विषयमा एक पोडकास्टमा सोधिएको प्रश्नको जवाफ दिँदै सुनील सेट्टीले व्यक्तिगत श्रेय लिन आफू इच्छुक नरहेको बताएका थिए। उनले उद्धार गरिएका महिलाहरूले सुरक्षित र सम्मानजनक जीवन पाउनुपर्ने र उक्त अभियान सामूहिक प्रयासको परिणाम भएको बताएका थिए।
ठूलो मानवीय कार्य गरे पनि त्यसको प्रचार नगरेका सेट्टीको यो योगदान करिब तीन दशकपछि सार्वजनिक चर्चामा आएको हो। १२८ नेपाली महिलालाई स्वदेश फर्काउन गरिएको उक्त सहयोग मानवीय सेवाको एउटा उल्लेखनीय उदाहरणका रूपमा लिइएको छ।












