टाटा मोटर्सको ४० बस महानगर यातायातले एकैदिन थप्यो – Sagarmathapana:: Online News Portal

टाटा मोटर्सको ४० बस महानगर यातायातले एकैदिन थप्यो

   २०८१ माघ ११ गते  

काठमाडौं । महानगर यातायात प्राइभेट लिमिटेडले आफ्नो कम्पनीमा बिहिबार टाटा मोटर्सको ठूलो क्षमताको ४० वटा नयाँ बस थप गरेको छ ।

बिहिबार नैकापस्थित सिप्रदी ट्रेडिङ्ग प्राइभेट लिमिटेडमा आयोजित एक कार्यक्रममा उक्त ४० वटा नयाँ बसको साँचो महानगर यातायातलाई हस्तान्तर गरिएको छ ।

कम्पनीका वरिष्ठ सल्लाहकार धर्मराज रिमालका अनुसार १७ करोड लगानीमा यो कम्पनीले २०७२ सालमा ३९ वटा ठूलो क्षमताको बससहित आफ्नो व्यवसायिक यात्रा सुरु गरेको थियो । त्यसपछि समय समयमा गरी फेरी १० वटा बस थपिएको थियो । ति सबै बसहरु चक्रपथ रुटमा गुडिरहेका छन् ।

बिहिबार थपिएको ४० वटा बस गरी अब यो कम्पनीसँग ८९ वटा वस भएको छ ।

थपिएको नयाँ ४० बसको साँचो सिप्रदी ट्रेडिङ प्राइभेट लिमिटेडका कार्यकारी अधिकृत राजनबाबु श्रेष्ठले महानगर यातायात प्राइभेट लिमिटेडका अध्यक्ष मधुसुदन उपाध्याय अधिकारीलाई हस्तानान्तर गरेका थिए

थपिएको बस पनि बिहिबारदेखि नै चक्रपथको विभिन्न रुटसहित चन्द्रागिरी, गोदाम, थानकोटदेखि काभ्रेको बनेपाहुँदै धुलिखेलसम्मको रुटमार्फत सञ्चालनमा ल्याउन लागिएको अधिकारीले जानकारी दिए ।

साढे ८ मिटर लम्बाई भएको यो बसमा ३२ सिटको सुविधा छ । यो ४० बस खरिद गर्न २० करोड रुपैयाँ लगानी भएको छ ।

पछिल्लो समयमा देशभर विद्युतीय सवारी साधनको ठूलो लहर चलेको भन्दै महानगर यातायातका उपाध्यक्ष सन्तोष खतिवडाले निकट समयमै १० वटा विद्युतीय वसमार्फत सेवा दिन लागिएको जानकारी दिए । आगामी १ बर्षभित्रमा ५० वटा नयाँ विद्युतीय वस थप्ने गृहकार्य भइरहेको उनको भनाई छ ।

यसका साथै आगामी समयमा यो कम्पनीले पव्लिक लिमिटेड कम्पनीको रुपमा बढ्ने तयारी गरेको छ । यसका लागि केहि समयपश्चात सर्वसाधारणको लागि आफ्नो शेयर(आईपीओ) जारी गर्ने छलफल भइरहेको खतिवडाले जानकारी दिए ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले उपत्यकामा मास ट्रान्सपोर्टरको रुपमा कम्तिमा १ सय जना यात्रु अटाउने क्षमताको ठूला बसहरु गुडाउन पाउने गरी राज्यले नीति ल्याउनु पर्ने बताए ।

‘राज्यले अहिले राजस्व मात्रै असुल गर्ने उद्देश्यले स साना बसलाई मात्रै प्राथमिकता दिएको छ,’ उनले भने,‘यसले गर्दा उपत्यकाको सडक कुरुप मात्रै होइन जाम पनि त्यतिकै बढेको छ । जामको समस्या समाधान गर्न सडक फराकिलो पारेर मात्रै हुँदैन । ठूला क्षमताका बस गुडाउन आवश्यक छ ।’

सिटौलाका अनुसार अहिले काठमाडौं उपत्यकाको तीन जिल्लामा मात्रै २५ लाखको संख्यामा मोटरसाइकल थपिएका कारण पनि सडक निक्कै अस्तव्यस्त र जाम हुन थालेको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै