राई ईज किङ सांगीतिक कार्यक्रमका लागि अमेरिका मा आयोजकको भव्य स्वागत
काठमाडौं । नेपाली कलाकार संघ, अमेरिकाको आयोजना हुने सांगीतिक कार्यक्रमका लागि लोकप्रिय गायक राजेशपायल राई पुनः अमेरिका र क्यानड पुगेका छन् । ‘राई ईज किङ’का रुपमा चर्चित राजेशपायललाई न्यूयोर्कमा नेपाली कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राई लगायतले भव्य स्वागत गरेका थिए ।
केही दिनको ‘पाहुना’ जस्तै नेपाल बसाइपछि लोकप्रिय गायक राजेशपायल राई पुनः अमेरिका र क्यानडाको सांगीतिक भ्रमणमा निस्केका हुन् । यसैक्रममा उनी बुधबार अमेरिकाको न्यूयोर्क पुगेका छन् ।

यही डिसेम्बर २८ तारिख (शनिबार) ‘रमझम साँझ–२०२४’ कार्यक्रममा राजेशपायलले दमदार प्रस्तुती दिँदैछन् । ‘स्टेज किङ’का रुपमा समेत चिनिएका राजेशपायलसँगै उक्त कार्यक्रममा अन्य विभिन्न चर्चित कलाकारहरुको पनि प्रस्तुती रहने नेपाली कलाकार संघ, अमेरिकाकी अध्यक्ष बसन्ती राईले जानकारी दिएकी छन् ।
कार्यक्रमका लागि सम्पूर्ण तयारी भइसकेको बताउँदै उनले भनिन्, ‘कार्यक्रमलाई भव्य र सभ्य बनाउन कुनै कन्जुस्याई गरिने छैन । आशा, अवश्य कार्यक्रम भव्य हुनेछ ।’ कार्यक्रम न्युयोर्कस्थित गुल्सन टेरेस हलमा हुनेछ ।
‘राई इज किङ’का लागि अमेरिका, युके, क्यानडा जस्ता देशहरु पानी पधेँरो जस्तै भएको छ । गायक राजेशपायलको अमेरिका भ्रमण यो ३२औं पटक हो । अमेरिकाको प्रत्येक सांगीतिक भ्रमणमा राजेशपायलले तहल्का मच्चाउँदै आएका छन् ।
न्यूयोर्कमा रमझम गराएपछि राजेशपायल न्यूयोर्कबाटै क्यानडा उड्ने छन् । क्यानडाको विभिन्न सात स्थानमा कन्सर्ट सकेर पुनः न्यूयोर्क आउने उनको तालिका छ । र, न्यूयोर्कको डल्लासमा सांगीतिक प्रस्तुती दिएपछि उनी जर्मनी जानेछन् । ‘जर्मनीमा कार्यक्रम तय भइसकेको छ’ उनले भने, ‘जर्मनीको कार्यक्रम सकेपछि नेपाल फर्कनेछु ।’












