माग पूरा हुने भन्दै बिपीका कर्मचारीलाई काममा फर्कन स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौँ– स्वास्थ्य मन्त्रालयले केही माग पूरा भएको र केही हुन बाँकी क्रममै रहेको भन्दै बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका आन्दोलनरत स्वास्थ्यकर्मीलाई काममा फर्किन आग्रह गरेको छ।आइतबार विज्ञप्ति जारी गर्दै मन्त्रालयले भदौ २० गतेदेखि आन्दोलनरत स्वास्थ्यकर्मीलाई आन्दोलन स्थगित गरेर काममा फर्किन अनुरोध गरेको हो।मन्त्रालयले बुँदागत रुपमा आन्दोलरत स्वास्थ्यकर्मी तथा कर्मचारीका मागको अवस्थाका बारेमा उल्लेख गर्दै पदाधिकारी कारवाही प्रक्रिया अघि बढेसँगै पदाधिकारी नियुक्तिको मापदण्ड तयार हुने क्रममा रहेको जनाएको छ।
विज्ञप्तिमा भनिएको छ, ‘भ्रष्टाचारको विषय अख्तियारको छानबिनको क्रममा छ। रजिष्टारको राजिनामा स्वीकृत भइसकेको छ। उपकुलपतिको प्राध्यापक पद नभएको पुष्टि भएकोले कानुनअनुसार थप प्रक्रिया अघि बढाईसकेको छ। कोभिड महामारीको यो अवस्थालाई विचार गर्दै काममा फर्किनुहोला।’
सरकारले पूर्व सम्झौता अनुसार आफ्ना माग पूरा नभएको भन्दै प्रतिष्ठानका स्वास्थ्यकर्मी तथा कर्मचारीले भदौ २० गतेदेखि आन्दोलित भएपछि इमर्जेन्सी, कोभिड र पूर्व निर्धारित परीक्षा बाहेक सबै सेवा अवरुद्ध भएका छन्।












