एकै परिवारका ६ जनाको हत्या भएको मादी घटनाका आरोपी भन्छन् रिसको झोँकमा सबैको हत्या
मोरङ – प्रहरीले संखुवासभाको मादीमा एकै परिवारका ६ जनाको हत्या भएको घटनामा संलग्न भएको आरोप लागेका व्यक्तिलाई सार्वजनिक गरेको छ स्थानीय २६ वर्षीय लोकबहादुर कार्कीलाई सार्वजनिक गर्दै प्रदेश(१ प्रहरी प्रमुख अरुण विसीले घटना आवेग प्रेरित भएको बताए।’ घटना कुनै योजनाबद्धरुपमा भएको होइन
। यो आवेगप्रेरित घटना हो र उनी एक्लैले गरेका हुन्’, डीआईजी बिसीले भने।
संखुवासभाको मादी–१ खोलागाउँमा सोमबार बिहान एकै परिवारका ६ जनाको हत्या भएको अवस्थामा शव भेटिएको थियो।मादी–१ का बौद्धमान कार्कीको घरका ६ जनाको हत्या भएको थियो। बौद्धमानकी श्रीमती पार्वती, छोरा तेजबहादुर, तेजबहादुरकी श्रीमती कमला, बुहारी रञ्जना, नाति विपीन तथा नातिनी गोमाको हत्या भएको थियो। घरमा रहेका मध्ये ९० वर्षीय बौद्धमान मात्र जीवित भेटिएका थिए।डीआईजी बिसीले घटना बिहानको ६ देखि साढे ६ बजेको बीचमा भएको बताए। प्रहरीका अनुसार मृतकमध्येका तेजबहादुर लोकबहादुरका अभिभावकजस्तै थिए।
‘लोकबहादुरका हजुराबुबाले मर्ने बेलामा तेज बहादुरलाई आफ्नो परिवारलाई पनि रेखदेख गर्न भनेका रहेछन्। त्यही कारण उनी लोकबहादुरलाई काम गर भन्दै सम्झाउने, गाली गर्ने रहेछन्’, बिसीले भने, ‘ घटनाको दिन तेजबहादुरले लोकबहादुर र उनका भाईलाई खेताला लैजाने भनेका रहेछन्। त्यसैका लागि लोकबहादुरलाई बोलाएर फर्कँदा दाउराले पछाडिबाट आक्रमण भएको रहेछ।’तेजबहादुरको गुहार सुनेर आएका कमला र रञ्जनालाई पनि लोकबहादुरले आक्रमण गरेको बयान दिएको प्रहरीको भनाइ छ। त्यसपछि कमला र रञ्जनालाई पछ्याउँदै आएका विपीन र गोमालाई आक्रमण गरेका लोकबहादुरले घरमै गएर पार्वतीको हत्या गरेको प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरीले जनाएको छ।
मानसिक समस्या देखिएपछि लोकबहादुर तीन वर्षअघि मलेसियाबाट फर्किएको र औषधि सेवन गरिरहेको प्रहरीले जनाएको छ। ‘ तेजबहादुरले गाली गर्ने भएकाले लोकबहादुरलाई साह्रो रिस उठेको रहेछ। घरमा अरु कोही नभएको बेला तेजबहादुर आएकाले त्यही समयमा उनले आक्रमण गरेका रहेछन्’, डीआईजी बिसीले भने।












