द्वेषपूर्ण एवम् भ्रामक,घृणाजन्य अभिव्यक्ति सार्वजनिक गर्नेलाई गृह मन्त्रालयले कानुनी दायरामा ल्याउने
काठमाडौं । गृह मन्त्रालयले विज्ञप्ति जारी गर्दै सार्वजनिक शान्ति सुव्यवस्थामा नै खलल हुने गरि घृणाजन्य अभिव्यक्ति सार्वजनिक गर्नेलाई कानुनी दायरामा ल्याउने चेतावनी दिएको छ ।
सामाजिक सञ्जाल लगायत माध्यमको गलत प्रयोग गरी कानुनले निषेध गरेका द्वेषपूर्ण एवम् भ्रामक अभिव्यक्ति सार्वजनिक गरेर सामाजिक सद्भाव र मर्यादामा आँच पुर्याउने काम भएको भन्दै गृह मन्त्रालयले आफ्नो ध्यानाकर्षण भएको जनाएको छ ।
संविधानप्रदत्त मौलिक हकको कार्यान्वयन र सुनिश्चितताका लागि गहृमन्त्रालय प्रतिवद्ध रहेको विज्ञप्तिमा भनिएको छ । कानुनले बर्जित गरेका गतिविधि सामाजिक सञ्जाल लगायत माध्यमबाट गर्ने जो कोहीलाई समेत कारबाही हुने जनाउँदै मन्त्रालयले त्यस्ता गतिविधि नगर्न आग्रह समेत गरेको छ ।
मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जारी गरेको विभिन्न जातजाति, धर्म सम्प्रदायबीचको सम्बन्धमा खलल पार्ने, गाली बेइज्जत गर्ने, अपराध गर्न दुरुत्साहन गर्ने एवम् सार्वजनिक शिष्टाचार नैतिकताको प्रतिकूल हुने जस्ता घृणाजन्य अभिव्यक्तिहरुलाई निरुत्साहित गर्न विभिन्न कानुनले त्यस्ता अभिव्यक्ति र गतिविधिलाई दण्डनीय अपराध मानिएको उल्लेख छ ।













