एमसिसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्रीलाई दिउँसो भेट्ने – Sagarmathapana:: Online News Portal

एमसिसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता, प्रधानमन्त्रीलाई दिउँसो भेट्ने

   २०७८ भाद्र २५ गते  

काठमाडौँ – नेपाल भ्रमणमा रहेकी अमेरिकी सहायता परियोजना (एमसिसीं) की उपाध्यक्ष फातिमा सुमार र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ।

प्रचण्डलाई भेट्न सुमारसहितको एमसिसी प्रतिनिधिमण्डल शुक्रबार बिहान खुमलटार पुगेको थियो।

भेटमा माओवादी अध्यक्ष प्रचण्डले एमसिसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ।भेटमा उपाध्यक्ष सुमारले आफू नेपाल कुनै दबाब दिनका लागि नभई एमसिसीबारे स्थिति बुझ्न आएको बताएको उल्लेख छ। यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै सुमारले सकारात्मक निर्णय हुनेमा आफू आशावादी रहेको बताएकी छन्।

यसैबीच सुमारले दिउँसो ४ बजे प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्ने तय भएको छ। सुमारसहितको टोली बिहीबार नेपाल आएको हो। उनले नेपाली कांग्रेसका सभापतिसमेत रहेका प्रम देउवासँग ४ बजे भेट्ने भएकी हुन्।

यसअघि उनले बिहीबार पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, जसपाका नेताद्वय उपेन्द्र यादव र डा बाबुराम भट्टराईलाई भेटेकी थिइन्।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै