छरिएर रहेका सीपमूलक तालिमहरूलाई एकीकृत गरिनु उपयुक्त – Sagarmathapana:: Online News Portal

छरिएर रहेका सीपमूलक तालिमहरूलाई एकीकृत गरिनु उपयुक्त

   २०७८ भाद्र २२ गते  

काठमाडौं ः विभिन्न मन्त्रालय र निकायहरूमार्फत अलग अलग ढंगले कार्यन्वयन गरिँदै आएका सीप तथा रोजगारमूलक कार्यक्रमहरूलाई एकीकृत ढंगले सञ्चालन गर्न प्रभावकारी हुने निष्कर्ष निकालिएको छ।

आइतबार अर्थ मन्त्रालयमा आयोजित छलफलमा राष्ट्रिय योजना आयोगसहित सरोकारवाला मन्त्रालय तथा निकायका उच्च पदस्थ अधिकारीहरूले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले सञ्चालन गरिनुपर्ने बताएका हुन्। छलफलमा श्रम, शिक्षा, कृषि तथा पशुपंछी, सहकारी, युवालगायतका मन्त्रालय र मातहतका निकायहरूबाट हुने गरेका सीपमूलक तथा रोजगारमूलक तालिमहरूलाई विषयगत रुपले एकीकृत गरी एकद्वार प्रणालीबाट सञ्चालन गर्नुपर्ने निचोड निकालिएको छ।

कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्माले दोहोरोपना देखिएका तालिम कार्यक्रमहरूलाई एकीकृत रुपले सञ्चालन गगर्ने गरी नीतिगत तयारी गर्न निर्देशन दिए। ‘एकै प्रकृतिका कार्यक्रमहरू धेरै निकायबाट भइरहेका छन्। यसरी काममा प्रभावकारिता आउँदैन। तिनलाई केन्द्रिकृत गर्ने गरी तयारी गर्नुस्’ उनले भने, ‘हरेक वर्ष एउटै व्यक्तिलाई एकै प्रकृतिको तालिम मात्र दिइरहने तर त्यो व्यक्ति स्वरोजगार भएको नदेखिने समस्या छ, यसलाई अन्त्य गर्नुपर्छ।’ उनले तालिम लिएको व्यक्ति स्वरोजगार हुने वा रोजगारीमा लाग्नसक्ने खालको तालिम सञ्चालन गर्नुपर्नेमा जोड दिए।

‘हामीले गर्दै आएको बृक्षारोपण र ट्रेनिङ्ग उस्तै उस्तै भयो, खासै परिणाममुखी भएनन्। अब यसलाई सच्याउने गरी नीति, कार्यक्रम बनाउनुपर्छ।’ सीपमूलक तालिमहरू एकीकृत गर्दा सीमान्तकृत समुदायलाई प्राथमिकतामा राखेर कार्यक्रम तय गर्नुपर्नेमा मन्त्री शर्माले जोड दिए।

कार्यक्रममा राष्ट्रिय योजना आयोगका सदस्य सचिव केवलप्रसाद भण्डारीले सीपमूलक तालिमहरू एकद्वार प्रणालीबाट सञ्चालन गनुपर्ने प्रस्ताव आवश्यक र सान्दर्भिक रहेको उल्लेख गर्दै यसलाई विषयगत हिसाबले दुई समूहमा विभाजन गरी सञ्चालन गर्न उपयुक्त हुने सुझाव दिए। श्रम क्षेत्रसँग सम्बन्धित तालिम जति सबै श्रम मन्त्रालयमार्फत र प्राज्ञिक क्षेत्रसँग सम्बन्धित सबै किसिमका तालिमहरू शिक्षा मन्त्रालयमार्फत सञ्चालन गर्नुपर्ने उनको धारणा छ। उनले तालिम सञ्चालन गर्दा देशभर एकीकृत पाठ्यक्रम लागू गर्ने र तालिम सकिएपछि सबैलाई एकीकृत ढाँचाको प्रमाणपत्र उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने बताए। यसो गर्दा सहरी र ग्रामीण क्षेत्रमा पाएको तालिमको प्रमाणपत्रले समान मान्यता पाउने उनको तर्क छ।

अर्थसचिव मधुकुमार मरासिनीले एकीकृत प्रणालीबाट तालिम सञ्चालन गर्ने विषय सकेसम्म प्रतिस्थापन विधेयकमा समेट्ने गरी तयारी गर्न सम्बद्ध मन्त्रालय तथा निकायहरूलाई आग्रह गरे। यसरी एकीकृत प्रणालीबाट कार्यक्रम सञ्चालन गर्दा लागत प्रभावीसमेत हुने उनको भनाइ छ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै