लगानी बोर्डको रणनीतिक योजना मंगलबार सार्वजनिक हुँदै
काठमाडौं । लगानी बोर्डले तयार गरेको पाँच वर्षे व्यावसायिक योजना सहितको रणनीतिक योजना (२०७८–८२) भदौ २३ गते सार्वजनिक गरिने भएको छ ।
०६८ सालमा स्थापना भएको लगानी बोर्डले ’लगानी बोर्डको १० वर्षः आर्थिक समृद्धिका लागि साझेदारी’ को मुल नाराका साथ दशौं वार्षिक उत्सव मनाउँदैछ। त्यही कार्यक्रममा रणनीतिक योजना सार्वजनिक गरिने भएको हो।
प्रधानमन्त्री एवं लगानी बोर्डका अध्यक्ष शेरबहादुर देउवाबाट रणनीतिक योजनाका साथै नेपाल इन्भेष्टमेन्ट गाइड, २०२१ र कफी टेवल बुक समेत सार्वजनिक गर्ने छन्।
दशौं वार्षिकोत्सव उद्घाटन सत्रमा विशेष अतिथिद्धय अर्थमन्त्री एवम् लगानी बोर्डका उपाध्यक्ष जनार्दन शर्मा ‘प्रभाकर’ र उर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री पम्फा भूसाल, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट, विश्व बैंकका क्षेत्रीय प्रमुख गुवाङझे चेन, नेपालका लागि बेलायती राजदुत निकोला पोल्लिट लगायतले मन्तब्य दिने छन्।
लगानी बोर्डबाट सहजीकरण भइरहेका परियोजनाहरुका विकासकर्ता, लगानीकर्ता, विकास साझेदार तथा लगानी बोर्डसँग आवद्ध विभिन्न व्यक्ति तथा संस्थाहरुलाई सम्मान गरिने छ।
उद्घाटन समारोहपछि दिगो पूर्वाधार विकास तथा सार्वजनिक–निजी साझेदारी लगानीका सम्भावनामा केन्द्रित भई दुईवटा छलफल सत्रहरु संचालन हुनेछन्।
कोभिड १९ को महामारी पछिको आर्थिक अवस्था तथा जलवायु परिवर्तनको विश्व परिदृश्यमा सरकारले दिगो पूर्वाधार विकासमा जोडदिइरहेको सन्दर्भमा ’नेपालमा दिगो पूर्वाधारको विकास’ विषयमा राष्ट्रिय योजना आयोगका माननीय उपाध्यक्ष डा. विश्व पौडेलको अध्यक्षतामा पहिलो सत्र संचालन हुनेछ।
छलफलबाट नेपालमा हरित र दिगो पूर्वाधारको विकासका सम्भावना, वर्तमान कानूनी व्यवस्थाहरु, लगानीका अवसरहरु तथा चुनौति एवम् सार्वजनिक–निजी साझेदारी लगायत परियोजना विकासका संयन्त्रहरु रआपसी सहकार्यका सम्भावनाहरु पहिचान गर्ने अवसर प्राप्त हुने बोर्डको विज्ञप्तिमा उल्लेख छ।
अर्थ सचिव मधुकुमार मरासिनीको अध्यक्षतामा ’नेपालको आर्थिक विकासका लागि सार्वजनिक–निजी साझेदारीको विकास र व्यबस्थापन’ दोस्रो सत्र संचालन हुनेछ।
यस सत्रले नेपालमा सार्वजनिक–निजी साझेदारीमा लगानी परिचालनका विविध पक्षहरु, लगानी योग्य तथा विश्वासनीय परियोजनाको विकास तथा व्यवस्थापन, नेपालमा सार्वजनिक–निजी साझेदारी परियोजनाका सम्भावना र चुनौतिहरु तथा परियोजनाहरुको विकासका लागि सरोकारवालाहरुसँग सहकार्यको सम्भावनाहरुबारे छलफल गर्ने अवसर प्रदान गर्नेछ।












