‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा हुने – Sagarmathapana:: Online News Portal

‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा हुने

   २०८१ कार्तिक १० गते  

काठमाडौँ । ‘रूपान्तरण र एकताः श्रम, लगानी, र नागरिकताको निरन्तरता’ भन्ने मुख्य विषयमा केन्द्रीत रहेर एनआरएन ग्लोबल कन्क्लेभ–२०२४ तथा वार्षिक साधारण सभा यही अक्टोबर २७ –२८ २०२४ तदनुसार कार्तिक ११ र १२ गते काठमाडौंको होटल सोल्टीमा आयोजना हुने भएको छ ।

गैरआवासीय नेपाली दिवसको अवसरमा आयोजना गर्न लागिएको विशेष समारोहमा कार्यक्रमको उद्घाटन आइतबार साढे ९ बजे सम्माननीय प्रधानमन्त्री  केपी शर्मा ओलीले गर्ने जानकारी दिइएको छ ।

कार्यक्रमको पहिलो दिन २७ अक्टोबर २०२४ मा  नेपालमा आर्थिक रुपान्तरका लागि पूर्वाधार निर्माण, गैरआवासीय नेपाली नागरिकता, मताधिकार र गोर्खा, नेपाली मूलका विदेशी नागरिक (पीएनआ), जलवायु परिवर्तनले महिला तथा  बालबालिकामा पार्ने प्रभाव, समृद्ध नेपालका लागि विज्ञान, ज्ञान र प्रविधि हस्तान्तरण सम्बन्धी विषयमा घनीभूत छलफल हुनेछ ।

कार्यक्रमको दोस्रो दिन २८ अक्टोबर २०२४ मा राष्ट्र निर्माणका लागि प्रवासी युवाहरूको सशक्तिकरण, सुरक्षित, व्यवस्थित र सम्मानजनक वैदेशिक रोजगारीको सुनिश्चितता एवं सामाजिक सुरक्षा र  नेपाल पर्यटन प्रवर्धनः नीति निर्माण, अपेक्षा चुनौती र एनआरएनएको भूमिका लगायतका सत्रहरु समावेश गरिएका छन् ।

कार्यक्रममा नेपाल सरकारका मन्त्रीहरु, उच्च पदस्थ पदाधिकारीसहित स्वदेश तथा विदेशबाट उच्च पदस्थ व्यक्तित्व एवं विज्ञहरूको सहभागिता रहने कार्यक्रममा ७ वटा प्लेनरी सत्र रहनेछन् । कार्यक्रममा स्वदेश तथा विदेशका ५ सय भन्दा बढी व्यक्तित्वको सहभागिता रहने भएको छ ।

यसैबीच २८ अक्टोबर २०२४ तदनुसार कार्तिक १२ गते गैरआवासीय नेपाली संघको विधान अनुसार नियमित वार्षिक साधारण सभा आयोजना गरिनेछ । संघका ६० भन्दा बढी देशका प्रतिनिधिहरुले प्रत्यक्ष र भर्चुर्अल माध्यमद्धारा सहभागीता जनाउने छन् । साथै आर्थिक तथा वार्षिक प्रतिवेदन माथि छलफल गरी पारित गरिनेछ । साधारण सभामा सहभागी हुन गैरआवासीय नेपाली संघका अधिकांश पदाधिकारीहरु, तथा साधारणसभा प्रतिनिधिहरु काठमाण्डौं आइसक्नु भएको छ ।

स्थानीय र प्रदेश सरकारसँग सहकार्य गर्ने उद्देश्यले स्थानीय तहका प्रमुख तथा प्रदेश स्तरका मन्त्रीको सहभागिता हुने कार्यक्रमले विश्वभर रहेका गैरआवासीय नेपालीहरू, नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरू, नीतिनिर्माण तहका विज्ञहरू, सरकारी तथा गैरसरकारी निकायका प्रतिनिधिहरु तथा बौद्धिक समुदायलाई एकै स्थानमा ल्याई गहन छलफलको मञ्च उपलब्ध गराउ एनआरएनएले जनाएको छ ।

यस अवसरमा एनआरएन डेभलप्मेन्ट फण्ड (१० अर्बको फण्ड) को सञ्चालनका लागि भइरहेको अन्तिम तयारीबारे नेपाल सरकारका मन्त्री लगायत सरोकारवालासँग छलफल हुनेछ । जसले गैरआवासीय नेपालीहरूद्वारा नेपालको आर्थिक र सामाजिक विकासमा योगदान पुर्याउने दीर्घकालीन परियोजनाहरूलाई  सहयोग पुग्ने बताइएको छ ।

ग्लोबल कन्क्लेभ गैरआवासीय नेपालीलाई नेपालसँग जोड्ने मार्ग पनि ठानेको एनआरएनएले जनाएको छ । यस अवसरमा हामी नेपालको आर्थिक विकासका सम्भावनाहरु र चुनौतीहरुका बारेमा छलफल गर्ने र विदेशी लगानी आकर्षित गर्ने र नेपाललाई आर्थिक समृद्धिको मार्गमा अग्रसर गराउने पनि रहेको बताइएको छ ।

कार्यक्रममा भौतिक रुपमा उपस्थित हुन नसक्नेको लागि भर्चुअल उपस्थितिका लागि विशेष व्यवस्था मिलाइएको छ । यसका साथै विगतमा असन्तुष्ट समुहलाई एउटै फोरममा राखी असहमति, असमझदारीलाई छलफलमार्फत समस्या समाधानका लागि आह्वान गर्दै यस वार्षिक साधारणसभालाई एकताको सभा बनाइने भएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै