बाढीपहिरोमा परेर मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुग्यो
काठमाडौं । बाढीपहिरोमा परेर सोमबारसम्म मृत्यु हुनेको सङ्ख्या दुई सय ४६ पुगेका छन् ।
नेपाल प्रहरीले सोमबार सार्वजनिक गरेको विवरण अनुसार बाढीपहिरोमा परेर एक सय ७८ घाइते भएका छन् । १८ बेपत्ता रहेको गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले जानकारी दिनुभयो ।
मृतकमध्ये एक सय ७६ आश्रित परिवारलाई ‘विपद् पीडित उद्धार र राहतसम्बन्धी मापदण्ड, २०७७’ बमोजिम राहत रकम उपलब्ध गराइएको छ । प्रभावित परिवारलाई नगद सहायता तथा राहत सामग्री वितरण जारी रहेको उहाँले जानकारी दिनुभयो ।
मन्त्रालयअन्तर्गत केन्द्रीय विपद् गोदाम घरमा रहेको राहत सामग्री जिल्ला विपद् व्यवस्थापन समितिको मागको आधारमा उपलब्ध गराइएको छ । आपत्कालीन राहत, पुनः निर्माण र पुनस्स्थापनालाई प्रभावकारी बनाउने उद्देश्यले गृहमन्त्रीसहितको टोलीले विभिन्न क्षेत्रको स्थलगत अनुगमन गरी राहत र पुनस्निर्माणलाई गति दिन निर्देशन दिनुभएको उहाँले बताउनुभयो ।

विभिन्न राजमार्गका अवरोध हटाइ वा वैकल्पिक व्यवस्था गरी सञ्चालन गर्ने प्रयास भइरहेको मन्त्रालयले जनाएको छ । लाभग्राहीको विवरण प्राप्त हुनासाथ प्रभावितलाई खाद्यान्नलगायत तत्काल गुजारा गर्न नगद र अस्थायी आवास निर्माणका लागि पहिलो किस्तावापत् रकम जिल्ला विपद् व्यवस्थापन कोषबाट स्थानीय तहमार्फत उपलब्ध गराइने मन्त्रालयले जनाएको छ ।.












