लेटरप्याड, छाप र हस्ताक्षर कीर्ते प्रेस पास बनाउनेमाथि कारबाही – Sagarmathapana:: Online News Portal

लेटरप्याड, छाप र हस्ताक्षर कीर्ते प्रेस पास बनाउनेमाथि कारबाही

   २०८१ आश्विन २१ गते  

काठमाडौं । दृष्टि प्रकाशनको लेटरप्याड, छाप र हस्ताक्षर  कीर्ते गरी प्रेस पास बनाउनेमाथि प्रेस काउन्सिलले अनुसन्धान र कारबाही गर्न नेपाल प्रहरीलाई शुक्रबार पत्राचार गरेको छ ।

छाप र हस्ताक्षर समेत नक्कली बनाइ अष्टेलिया जाने प्रयोजनका लागि पठाइएको पाएपछि थप अनुसन्धानका लागि काउन्सिलले प्रहरीलाई पत्राचार गरेको हो । गलत व्यक्तिहरुले कीर्ते गरी आफ्नो लेटरप्याड, प्रेस पास समेत दुरुपयोग भएको भन्दै दृष्टि प्रकाशन काउन्सिल पुगेको थियो ।

त्यस्तै,  काउन्सिलले एकपक्षीय र प्रायोजित समाचार सम्प्रेषण गरेको भन्दै अंग्रेजी दैनिक द हिमालयनमाथि परेको उजुरीमा विस्तृत अनुसन्धान गर्न एक कार्यदल समेत गठन गरेको छ । काउन्सिलले शुक्रबार त्यसबारे विशेष अध्ययन गरी प्रतिवेदन पेस गर्न बोर्ड सदस्य ठाकुर बेल्वासेको संयोजकत्वमा ३ सदस्यीय कार्यदल समेत गठन गरेको हो ।

दि हिमालयन टाइम्स दैनिक र यसको अनलाइनपोर्टलमाबाट ईलाइट हिमालयन एडभेन्चर्स प्रा.लि. र निर्मल पूर्जाको नामसँग जोडेर विभिन्न मितिमा पटक पटक एकपक्षीय सामग्री सम्प्रेषण गरेको भनी दर्ता भएको उजुरी सम्बन्धमा कार्यदल गठन भएको काउन्सिलद्वारा शुक्रबार जारी विज्ञप्तिमा जनाइएको छ । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको अध्यक्षतामा रहेको आचारसंहिता अनुगमन उपसमितिको शुक्रबार बसेको बैठकले यसबारे निर्णय लिएको हो ।

 

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै