उजुरी लिएर प्रहरीमा पुगेकी महिलामाथि प्रहरीबाटै बलात्कार प्रयास – Sagarmathapana:: Online News Portal

उजुरी लिएर प्रहरीमा पुगेकी महिलामाथि प्रहरीबाटै बलात्कार प्रयास

   २०८१ आश्विन १८ गते  

काठमाडौँ- चोरीसम्बन्धी उजुरी लिएर प्रहरीमा पुगेकी  एक महिलामाथि प्रहरीबाटै बलात्कार प्रयास भएको छ ।

महिलालाई चोर पक्राउ गर्ने आश्वासन दिएर प्रहरी वृत्त सोह्रखुट्टेमा कार्यरत अनिलकुमार दाहालले बलात्कार प्रयास गरेका हुन् ।

आरोपी दाहाल बुधबार पुर्पक्षका लागि कारागार चलान भएका छन् । आफ्नो डेरामा चोरी भएपछि ती महिला गत २० भदौमा स्वयम्भू वृत्तमा पुगेकी थिइन् । स्वयम्भू वृत्तले सोह्रखुट्टे वृत्त पठाएको थियो ।

वृत्तमा उनको भेट हवल्दार दाहालसँग भएकोमा उनले चोरलाई पक्राउ गर्ने आश्वासन दिई नजिकिएका थिए । २९ भदौमा हवल्दार दाहालले ती महिलालाई फोन गरी चोर पक्राउ परेको भन्दै ठमेलमा भेट्न आउन बोलाए ।

महिलाले आफू आउन नसक्ने भन्दा पनि उनले निकै कर गरे । पठाओमा आउन आग्रह गर्दै भाडासमेत आफैँ तिरिदिए । त्यहाँ उनले ड्रंकेन इन होटेलमा लगेर बलात्कार प्रयास गरेको र आफू भागेको पीडितको जाहेरीमा उल्लेख छ ।

लगत्तै प्रहरीले हवल्दारलाई नियन्त्रणमा लिएर मुद्दा चलाएको हो । काठमाडौंका जिल्ला न्यायाधीश पीताम्बर शर्माको इजलासले उनलाई पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएको छ ।

फेसबुकबाट तपाईको प्रतिक्रिया सबै